५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कपिलवस्तुलाई कृषि जोनको रुपमा विकास गर्नु पर्छ – मन्त्री खनाल



मायादेवी अनलाइन, वाणगंगा ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले कपिलवस्तुमा ठुला आयोजनाका काम सुरु हुन लागेकाले छिट्टै जिल्लाले विकासमा फड्को मार्ने बताउनु भएको छ । दशौँ कपिलवस्तु महोत्सवको आइतबार समापन सत्रमा बोल्दै मन्त्री खनालले कपिलवस्तुको पर्यटन र कृषिमा टेवा पुग्ने गरी यहाँ ठुला आयोजना सम्पन्न हुन लागेको जानकारी दिनुभयो ।
नजिकै रुपन्देहीको भैरहवामा अन्तराष्ट्रिय विमानस्थल निर्माण हुन लाग्नु र लुम्बिनीमा संसारभरका पर्यटकको आगमन हुनुले यहाँ त्यस अनुसार ठुला आयोजना सम्पन्न गर्न सरकार लागि परेको उहाँले बताउनुभयो ।
कपिलवस्तुलाई कृषि जोनको विकास गर्नको लागि यहाँ ठुलो लगानीमा माछापालन व्यावसाय, सडकको विस्तार, लुम्बिनी परिपथ निर्माण, लुम्बिनीदेखि मुक्तिनाथ सम्मको पैदल परिपथ लगायतका काम अब चाँडै अगाडी बढ्ने बताउनुभयो ।
त्यसको लागि सरकारले बजेट विनियोजन गरिसकेकाले विकास हुँदैन कि भनेर चिन्ता नलिन उहाँले जिल्लाबासीलाई आग्रह गर्नुभयो । जिल्लामा हुने महोत्सव मध्येको ठुलो महोत्सव भएकाले दशौँ कपिलवस्तु महोत्सवले यस क्षेत्रको कृषि र पर्यटन प्रर्वद्धनमा ठुलो भूमिका खेलेको उहाँले बताउनुभयो ।
प्रदेश नम्बर ५ का सांसद विष्णु पन्थीले युगको माग अनुसार मेला र महोत्सवको प्रकृति परिवर्तन भएर जानुपर्ने बताउनु भएको छ । सांसद पन्थीले समय अनुसार मेला र महोत्सवको प्रकृति र ढाँचामा परिवर्तन गर्न नसकेमा महोत्सवको औचित्य नहुने बताउनुभयो ।
अब हुने मेला र महोत्सवमा स्वदेशी उत्पादनलाई जोड दिनु पर्ने भन्दै सांसद पन्थीले महोत्सवबाट उठेको रकम बाहिर जान नहुने बताउनुभयो । गाउँघरमा उत्पादन भएका कृषि र घरेलु सामग्रीलाई महोत्सवमा राखिनु पर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुले महोत्सवले जिल्लाका पर्यटन र कृषिलाई जनतामाझ पुर्याउन महत्पूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो । समापनका अवसरमा बिभिन्न क्षेत्रमा भूमिका निर्वाह गर्ने संघ संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २ पुस २०७५ सोमबार ००:००  १ : ०४ बजे