४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

धान सुपर जोनद्धारा किसानका लागि पावर टिलर तथा रिपर वितरण



मायादेवी अनलाइन, वाणगंगा ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्रगत धान सुपर जोन कपिलवस्तुले किसानका लागि पावर टिलर तथा रिपर वितरण गरेको छ । परियोजनाको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत लगानीमा पावर टिलर तथा रिपर वितरण गरिएको हो । परियोजनाले खुला गरेको आवेदनका आधारमा कृषक समुह र सहकारीलाई उक्त सामग्री वितरण गरिएको परियोजनाले जनाएको छ ।

सामग्री वितरण कार्यक्रममा बोल्दै प्रदेश सांसद विष्णु पन्थीले कृषिको किसानले प्राप्त गरेको पावर टिलर तथा रिपरले कृषिको आधुनिकीकरण र यान्त्रिकरणमा निकै ठूलो सहयोग मिल्ने बताउनुभयो । पछिल्लो समय कृषिमा यान्त्रीकरणको प्रयोग बढीरहेको भन्दै यसले किसानको लागत मूल्य घट्ने र उत्पादनमा  बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । किसानका लागि प्रदेश सरकारले पनि आफु सक्दो सहयोग गर्ने उहाले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणि अर्यालले नयाँ नयाँ प्रविधिको प्रयोगले किसानलाई सहज हुने बताउनुभयो । कृषि प्रतिको मोह पछिल्लो समय घटिरहेको बेला यान्त्रिकरणको प्रयोगले किसानलाई निकै राहत मिल्नेमा उपमेयर अर्यालले विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाबाट पनि किसानलाई सहयोग हुने भन्दै ढुक्क भएर कृषिमा लगानी बढाउन उहाले आग्रह गर्नुभयो ।

परियोजनाका प्रमुख मुकुन्द भुसालको अध्यक्षतामा भएको कार्यक्रममा परियोजनाका संयोजक द्रोणराज सुवेदी लगायतले बोल्नुभएको थियो । कार्यक्रम कृषि अधिकृत लेस बहादुर केसीको सञ्चालन र देवीराम बेल्वासेको स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २९ मंसिर २०७५ शनिबार ००:००  ३ : ३१ बजे