४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

कतारसँग शून्य लागतमा श्रम सम्झौताको नवीकरण गर्ने तयारी



काठमाडौं ।
सरकारले कतारमा पनि शून्य लागतमा कामदार पठाउने गरी श्रम सम्झौता नवीकरण गर्ने छलफल अघि बढाएको छ ।
श्रम सम्झौता नवीकरणका विषयमा आफ्ना प्रस्तावसहित नेपाली टोली डिसेम्बर अन्तिम साता कतार जाने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता जिसीएम महासभामा सहभागी हुन मोरक्को पुग्नुभएका श्रम मन्त्री गोकर्ण विष्ट र कतारका श्रम तथा सामाजिक मामिलामन्त्री युसुफ महम्मदबीच श्रम सम्झौता नवीकरणका विषयमा छलफल भएको हो ।
छलफलमा दुवै देशका प्राविधिक टोली पहल थाल्ने सहमति भएको श्रम मन्त्रालयले जनाएको छ । यही डिसेम्बर अन्तिम हप्ता अर्थात पुसको दोस्रो हप्ता दुई देशका प्रतिनिधि सहितका प्राविधिक टोलीले कतारमा छलफल गर्नेछन् ।
नेपालले श्रम सम्झौता नवीकरणमा शून्य लागत र कामदारका सुरक्षालाई प्राथमिकता दिने सरकारको तयारी छ ।
रोजगारी भिजेलको व्यवस्था पनि श्रम सम्झौता नवीकरणमा समावेश हुनुपर्ने
कतारले यही नेपालबाट कामदार लैजान रोजगारी भिजेल खोल्ने प्रस्ताव राखेको थियो । जसअनुसार कतार जान चाहने कामदारले म्यानपावर धाउन नपर्ने, सिधै रोजगारदाताले लैजाने प्रवधान हुने थियो ।
तर श्रम मन्त्री विष्टले श्रम सम्झौता नवीकरणमा यो कुरा समावेश भएपछि मात्रै खोल्न आग्रह गर्नुभएको छ । रोजगारी भिलेजको व्यवस्थाका बारेमा प्राविधिक टोलीसँगको छलफलपछि मात्रै नेपालमा रोजगारी भिलेजको व्यवस्था हुनेछ ।
सन् २००५ मा कतारसँग श्रम सम्झौता भए पनि कामदार मैत्री नभएको भन्दै नेपालले कतारसँगको श्रम सम्झौता नवीकरण गर्न चाहिरहेको छ । आउँदो मार्चदेखि कतारसँगको श्रम सम्झौता सकिंदैछ । श्रम सम्झौता नवीकरणका लागि मन्त्रालयले मस्यौंदा समेत तयार पारिसकेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७५ शुक्रबार ००:००  ६ : ५२ बजे