४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

महोत्सवले समयको महत्व सिकाएको छ



मायादेवी अनलाइन ।
मंसिर १८ गते देखि कपिलवस्तुको जीतपुर ४ नम्बरमा ‘कपिलवस्तु महोत्सव’ सुरु भएको छ । कपिलवस्तुको पर्यटकीय, कृषि र सांस्कृतिक पहिचानको लक्ष्य सहित बुद्ध रंगशालामा जारी महोत्सवमा एक हप्ताको अवधिमा हजारौं दर्शकले मेलाको अवलोकन गरेका छन् भने डेढ करोड बढीको कारोबार भैसकेको छ । समग्रमा महोत्सव सोचेजस्तो भएको छ कि छैन ? अपेक्षाकृत लक्ष्य हासिल गर्न सकिने अवस्था छ या छैन ? महोत्सव पहिलेको भन्दा के कारणले भिन्न छ लगायत महोत्सव समग्रताको विषयमा उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सवका मूल आयोजक समिति संयोजक उमानाथ पौडेलसंग गरिएको कुराकानी।

महोत्सब कसरी सञ्चालन भैरहेको छ ? एक हप्ताको ‘समराइज’ कस्तो छ ?

महोत्सव विगतको पाठ सिकेर राम्रो बनाउने प्रयासमा छौं । आधुनिक प्रविधिको युगमा नयाँ नयाँ प्रविधिको उच्चतम प्रयोग गरेर महोत्सव सञ्चालन भैरहेको छ । महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुभयो । उद्घाटनसस्त्र भव्यताका साथ सम्पन्न गर्न सफल भयौँ । यसले महोत्सवको गरिमालाई उच्च पारेको छ । सरकारले आर्थिक समृद्धिको नारा जोडतोडले उठाइरहेको बेला महोत्सवले पनि त्यसमा सहयोग पु¥याउने अपेक्षा गरेका छौं । महोत्सव सञ्चालन भएको एक हप्ता सम्म दर्शकको उत्साहजनक सहभागीता छ । शुरुको एक हप्ताको बीचमा जुन अपेक्षा गरेका थियौं अहिले सम्म पूरा भएको मलाई लागेको छ ।

भोलीको योजना कसरी बनाउँनुहुन्छ ?

महोत्सव भएको साँझ हरेक दिन सचिवालयमा बैठक हुन्छ । दिनभर भएका कामहरुको साथीहरुले रिर्पोटिङ गर्नुहुन्छ । महोत्सव सम्पन्न गर्नका लागि ३० वटा विभिन्न उपसमिति बनेका छन । सबैले आ–आफ्नो क्षेत्रको रिर्पाेटिङ गर्नुहुन्छ । दिनभर कहाँ के कस्ता त्रुटीहरु भए ? सुधार गर्नुपर्ने कुराहरु के के हुन् ? दर्शकको अपेक्षा के थियो र हामीले के दिन सक्यौं ? दर्शकहरुको कस्तो प्रतिक्रिया आइरहेको छ ? इत्यादी विषयमा महोत्सवमा साँझ छलफल हुन्छ । त्यसैको आधारमा भोली दर्शकलाई के दिने ? के गर्ने ? योजना बनाउँछौं । यसले गर्दा हरेक दिनहरुमा काम गर्न सजिलो भएको छ । साथीहरुले पनि एकदमै महत्वका साथ आफ्नै सम्झेर काम गर्नुभएको छ ।

गत बर्षहरुमा भन्दा यस बर्षको महोत्सव कुन विषयमा फरक छ भन्ने दाबी गर्नुहुन्छ ?

हेर्नुस । फरक कुराको अनुभूती दर्शकले गर्ने हो । हामी त आयोजक हौँ । हामी त फरक छौं भन्नै पर्छ । यसो भनिरहँदा यस पटकको दशौं महोत्सव विभिन्न कुराले फरक छ भन्न हामी सक्ने अवस्थामा छौं । सर्वप्रथम त मेलाको उद्घाटन नै पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नु सफलता नै भन्नुपर्छ । आफ्ना सारा व्यस्ततालाई छाडेर कपिलवस्तुलाई महत्व दिएर आउनुभयो यो जिल्लाबासीका लागि सुखत कुरा हो । दोस्रो समयको महत्व के हो भन्ने कुरा हामीले सिकाएका छौं । हामीले जुन समयमा कार्यक्रम शुरु गर्ने र अन्त्य गर्ने भनेका छौं लगभग त्यो पूरा भएको छ । कहिलेकाही १५ मिनेट आधा घण्टा तलमाथि भएपनि समग्रमा समयमा कार्यक्रम शुरु गर्न सकेका छौं र हरेक साँझ साढे ६ बजे मञ्च खाली गर्न सकेका छौं । यो पनि फरकपन हो । यो कुरालाई मैले चुनौतीको रुपमा लिएको थिए । साथीहरुबाट सहयोग हुन्छ हुँदैन थाहा थिएन । तर, एउटा बचनमा बद्ध भएर गर्छु भन्ने हो भने त्यो पूरा हुँदो रहेछ । शुरुमा केही साथीहरुलाई गाह्रो भएपनि अहिले सबैले मलाई साथ दिनुभएको छ । खटेर लाग्नुभएको छ । यो त कार्यक्रमको प्रकृती र अनुशासनको कुरा भो । अर्को कुरा महोत्सव कृषि र पर्यटनको हिसाबले गत बर्षभन्दा पृथक नै छ । गत बर्षहरुमा नामको मात्र कृषि स्टल हुन्थे । तर यसपटक कृषकलाई उपयोगी हुने गरी हामीले बन्दोबस्त मिलाएका छौं । कृषिमा मात्र १६ भन्दा बढी स्टल छन । सबैमा आधुनिक कृषि प्रविधि, कृषि औजार, कृषि मेसेनरी सामान, कृषि तालिम, अन्तरक्रिया आदि भै नै रहन्छ । यसबाट कृषकहरु लाभान्वित भैरहनुभएको छ । विशेष गरी धान खेती गर्ने किसानका लागि हामीले विशेष प्राथमिकता दिएका छौं । मकै छोडाउने मेशिन, बिउ छर्ने मेशिन, आदिलाई कृषक दर्शकले राम्रो मान्नुभएको छ । जानकारी लिनुभएको छ । यसमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग गरेको छ । यसैगरी सांस्कृतिक कार्यक्रममा पनि अनुशासन कायम गरेका छौं । यो पनि हाम्रो पृथकपना हो । कुनै कलाकार आएर अभद्र र अश्लिल प्रस्तुती दिनुभएको छैन । लगभग कलाकारहरुले नेपाली पोशाकमा नै गीत संगित प्रस्तुत गर्नुभएको छ । यो पनि राम्रै कुरा हो । यसैगरी हामीले डान्स आइडललाई पनि व्यवस्थित बनाएका छौं । प्रत्येक बर्ष डान्स आइडलका लागि भोटिङ हुँदा विभिन्न लडाई, झगडा, बादविवाद हुन्थ्यो । सुखद नै भन्नु पर्छ आज सातौं दिन सम्म एकदमै फेयर कार्यक्रम भएको जस्तो लाग्छ । भोट किन्ने कुरा लगभग बन्देज जस्तै छ । हरेक दिन फरक फरक कलरमा डान्स आइडलका लागि टिकट व्यवस्था गरिएको हुँदा आज काटेको टिकटले आज नै भोटको काम गर्छ । भोलीको लागि फरक कलरको टिकट हुन्छ । त्यस कारण डान्स आइडलका लागि भोट जम्मा गरेर खन्याउने प्रथा बन्द भएको छ । यो पनि फरक कुरा हो । यसैगरी अहिले हामी खर्चमा पारदर्शी छौ । मैले उद्योग संघको नेतृत्व गरे देखि नै भन्दै आएको कुरा हो २०७५ साल भवन निर्माण बर्ष हो । यसपटक संघको भवन निर्माण सक्नु नै छ । त्यसकारण हरेक क्षेत्रमा खर्च कम गरेर महोत्सव सम्पन्न गर्ने तयारीमा छौं । दिनभर खाने, आतेजाते खर्च संघले व्यहोर्दैन । सबै साथीहरुले आफै व्यवस्थापन गर्नुभएको छ । यसलाई पनि मैले अलिकति फरक रुपमा लिएको छु । यसैगरी बुद्धको ठूलो मूर्ती, मायादेवी मन्दिरको झल्को दिने सचिवालय र गेट पनि महोत्सवका फरक आकर्षण हुन । माछा मार्दै माछाका फरक परिकार खान पाउनु, माटो जाँच गराउन पाउँनु पनि दर्शकको लागि फरक नै कुरा हुन जस्तो लाग्छ । अर्को आकर्षण कुरा के छ भने कपिलवस्तुमा पहिलो पटक भेँडा जुधाई प्रतियोगीता पनि छ । बुधबार यो पनि दशौ कपिलवस्तु महोत्सवको पृथकता हो । यसभन्दा अगाडी कहिल्यै भएको थिएन । भारतबाट दुई दर्जन भेँडा आउँदैछन । जुन दर्शकका लागि नौलो हुने छ । यो विशेष गरी भारतमा प्रशिद्ध छ । हामीले केही नयाँ होस भनेर भेँडा जुधाई कार्यक्रम राखेका हौं । हाम्रो यो पूर्व निर्धारित कार्यक्रम थिएन बीचमा राखेका हौँं ।

लक्ष्य पूरा हुन्छ जस्तो लाग्छ ?

हामीले महोत्सव हुनु पूर्व नै एउटा योजना बनाएका थियौं । यहाँलाई थाहा नै छ । हामीले १२ करोडको कारोबार, ४ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा लिएका थियौ । महोत्सवको सातौ दिन सम्म आइपुग्दा एक लाख बढी दर्शकले अवलोकन गर्नुभएको छ भने डेढ करोड भन्दा बढीको कारोबार भएको छ । यसले पनि हाम्रो महोत्सव सफल हुनेमा हामी ढुक्क छौ । महोत्सवको एक हप्ता विति सकेपनि अबको एक हप्ता पनि महत्वपूर्ण छ । अबका दिनमा डान्स आइडल पनि थप रोमाञ्चक बन्दै जाने छ त्यसले पनि दर्शकको संख्या बढ्ने छ । जाडो मौसम शुरु भैसकेकोले लत्ता कपडा किन्न आउने दर्शकको संख्या बढ्ने छ । यो महोत्सवले एउटा इतिहास बोकेकाले सबैले एक पटक महोत्सव हेर्नुपर्छ भन्ने मान्यता रहेको देखिन्छ । सबै दर्शकले अन्तिम दिन सम्म महोत्सव अवलोकन गर्नुहुन्छ भन्ने आशा लिएका छौं । अन्त्यमा, सांस्कृितक कार्यक्रममा अलिकति कलाकार छनौट भएन भनेर दर्शकले गुनासो गरेको पनि सुनियो ? यसमा के भन्नुहुन्छ ?

यहाँलाई थाहा छ हरेक मान्छेका रुचि र गुणहरु फरक हुन्छन । सबैलाई शत प्रतिशत चित्त बुझाउन त कहाँ सकिन्छ र ? तै पनि दर्शकले जुन प्रश्न राख्नुभएको छ केही हदसम्म ठिकै हो । तर, उहाँहरुले भने जस्तो कलाकार छनौट भएन भन्ने चाहिँ होइन । यहाँले पनि दिनदिनै महोत्सव हेर्नुभएको छ । हामीले पछिल्ला दिनहरुलाई अलि बढी फोकस गरेका छौं । शुरुका एक दुई दिनमा दर्शकले भने जस्तो चल्तिका कालाकारहरु नभएको स्वभाविक हो । तर, चौथो र पाँचौ दिनबाट हामीले दर्शकलाई भरपुर मनोरञ्जन दिने गरी कलाकार छनौट गरेका छौं ।
यसको सम्पूर्ण जिम्मा सचिवालय र विशेष गरी उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष छवि रेश्मीलाई दिएका छौं । अहिले सम्म बुद्धरंगशालामा भएका नौ वटा महोत्सव सञ्चालन गर्दै गर्दा उहाँमा राम्रो अनुभव पनि छ । कुन दिन कस्तो कलाकार ल्याउँदा ठिक हुन्छ भन्ने कुरा उहाँलाई राम्रो ज्ञान भएको हुँदा आशा गरौँ महोत्सव अन्त्य हुँदा सम्म दर्शकले यो गुनासो गर्नुपर्दैन । अहिले सम्म लोक तथा दोहारी गायक खुमन अधिकारी, रामजी खाँण, हास्य कलाकार सु्वोध गौतम, आधुनिक गायक अर्जुन कौशल लगायतले प्रस्तुती दिइसक्नुभएको छ भने अझै पनि हामी संग चर्चित कलाकारहरु शिव परियार, रमेशराज भट्टराई, प्रति आले, पशुपति शर्मा, टंक बुढाथोकी, अशोक दर्जी, मञ्जु पौडेल, हास्यकलाकार दिनेश गौतम, पुरुषोत्तम भण्डारी ‘पूर्खे बा’ लगायतका बाँकी रहेका छन । अझ रोचक कुरा नेपाली लोक दोहारीमा पिएचडी गरेकी अमेरिकन लोक गायिका अन्ना पनि बाँकी रहेको हुँदा दर्शकले भने जस्तो कलाकार कम छन भन्ने लाग्दैन । यसको लागि दर्शकहरु अन्तिम दिन सम्म मेला स्थलमा आउँनु पर्दछ ।

-आर्थिक खबर मंसिर २५ गतेका लागि लिइएको अन्तर्रवार्ताबाट साभार

प्रकाशित मिति : २८ मंसिर २०७५ शुक्रबार ००:००  ६ : ४७ बजे