४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

आगलागीमा जलेर तीन बालबालिकाको मृत्यु



दाङ ।

दाङमा भएको आगलागीमा परि तीन जना बालबालिकाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका वडा नं. ८ गुराँसे निवासी नवराज पुनको घरमा आगो लाग्दा उनका ७ बर्षीय छोरा कृष्णबहादुर पुन, ५ बर्षीया छोरी अस्मिता पुन र २ वर्ष ६ महिनाकी छोरी अन्जु पुनको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट घरमा रहेका ७ वटा बाख्रा र ४ वटा गाई समेत जलेर मरेका छन । दाङ जिल्ला प्रहरी प्रवक्ता एवम डिएसपी रामप्रशाद घर्तीले पुनकी श्रीमती जीवना पुन १ बर्ष ४ महिनाको छोरा विरामी भएको हुँदा झारफुक गराउन भनि गाउँमा जाँदा अन्य तीन छोरा छोरीलाई घरमा एक्लै सुताएर गएको समयमा आगलागी भएको जानकारी दिनुभयो ।

पुनको ४ कोठाको २ तल्ले फूसको छानोयुक्त कच्ची घरमा सोलारको व्याट्री पड्किएर उक्त आगलागी भएको प्रहरीले बताएको छ । हिजो साँझ ६ बजेतिर घरमा आगो लागेको थियो ।

प्रहरी चौकी हाँसिपुरबाट गएको प्रहरी र स्थानीयको सहयोगमा रातको १२ बजेतिर मात्रै घरको आगो नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ । घर मुली नवराज पुन भने घरमा नरहेको प्रहरीले जानकारी दिएको छ । पत्रकार नारायण खड्काबाट 

प्रकाशित मिति : २८ मंसिर २०७५ शुक्रबार ००:००  ४ : २८ बजे