४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

कपिलवस्तु महोत्सवमा आज टंक बुढाथोकी र अशोक दर्जी, डान्स आइडलमा कसले पाउला ह्वाइल कार्ड ?



चन्द्रकान्त न्यौपाने, वाणगंगा । 
कपिलवस्तुको बाणगंगा स्थित बुद्धरंगशालामा जारी दशौं कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको ११ औँ दिन आज (शुक्रबार) विशेष हुँदै छ । आज एघारौं दिन चर्चीत आधुनिक गायक टंक बुढाथोकी र अशोक दर्जी लगायतको प्रस्तुती रहने भएका कारण आज विशेष रहने भएको हो । टंक बुढाथोकीको चलचित्र शत्रु गतेको रुपै मोहनी शीर्षकको गीत अहिले सर्वाधिक चर्चित छ भने दर्जीको धनविनाको मन ठुलो कि मनविनाको धन ।

पछिल्लो समय नेपालभरका महोत्सवमा आकर्षणको रुपमा रहेका चर्चित गीतकार, संगितकार तथा गायक टंक बुढाथोकी र अशोक दर्जीले आज दर्शकलाई भरपुर मनोञ्जन प्रदान गर्ने आयोजकले जनाएका छन् । त्यस्तै लोक गायिका सिर्जु अधिकारी र स्थानीय कलाकारको पनि प्रस्तुति रहने लगायतको प्रस्तुति रहने छ ।

डान्स आइडल

यसैगरी आज डान्स आइडलमा आज ५ जनाले प्रस्तुति दिने छन् । प्रतिस्पर्धाको रुपमा चार जना स्टेजमा रहे तापनि उत्कृष्ट नृत्य गर्ने तर दर्शकको भोटका आधारमा बाहिरिएका मध्येबाट एक जना ह्वाइल कार्डमार्फत पुनः प्रतिस्पर्धामा आउने आयोजकले जनाएका छन् । कसले ह्वाइल कार्ड पाउँछन् त्यो भने मेला स्थलमा पुगेपछि मात्र थाहा हुने छ । अहिले डान्स आइडलको मञ्चमा स्नेहा थापा, पुजन मल्ल, आज्ञा शर्मा र चाहना गिरी रहेका डान्स संयोजक विरेन्द्र खाँणले बताउनुभयो । उहाँका अनुसार सबै प्रतिस्पर्धी राम्रो भएकाले प्रलोभनमा नपरी राम्रो कला भएको कलाकारलाई भोट खसाल्न आग्रह गर्नु भयो । खाँणले जबरजस्ती भोट नखोस्न पनि प्रतिस्पर्धीलाई आग्रह गर्नु भएको छ । डान्स आइडलको घोषणा पौष १ गते राति ८ बजे हुने छ ।
डान्स आइडल प्रतियोगीताको विजेता पुरुषले टिभिएस मोटरसाइकल र महिला विजेताले टिभिएस स्कुटर प्राप्त गर्नेछन् । यस्तै आइडलको दोस्रो हुनेले नगर १ लाख, तेस्रो हुनेले ५५ हजार र प्रात्साहन स्थान आउनेले २५ हजार नगद प्राप्त गर्ने छन । आइडलमा अहिले सम्मकै सबैभन्दा बढी पुरस्कार राशी भएकोले यसको महत्व र चर्चा चारैतिर भैरहेको छ ।

कृषकको लागि पनि विशेष

यसैबीच दशौं कपिलवस्तु महोत्सवको आज एघारौं दिन कृषकको लागि पनि विशेष हुदै छ । कपिलवस्तुको पछिल्लो समय मौरी पालन व्यवसाय फष्टाउदै गएकाले किसानलाई उपयोगी हुने गरी आज यस व्यवसायको सम्भावना, अवसर र चुनौती विशेयक अन्र्तक्रिया हुने छ । नेपाल सरकारका सचिवस्तरीय कृषिविज्ञहरुबाट परागसेचन, मौरी व्यावसायका चुनौति,सम्भावना र अवसरका बारेमा किसानलाई प्रत्यक्ष जानकारी दिइने आयोजक कपिलवस्तु उद्योग बाणिज्य संघले जनाएको छ । विशेष गरी मौरी पालक किसान र अन्य इच्छुक व्यक्तिलार्य अनिवार्य रुपमा २ बजे कार्यक्रममा सहभागिताको लागि अनुरोध पनि गरिएको छ ।

महोत्सवमा अन्त्य तर्फ आइपुग्दा पनि दिनप्रतिदिन दर्शकको भीँड बढीरहेको छ । कृषिजन्य व्यवसाय तथा उत्पादनको प्रवर्धन, पर्यटन प्रवर्धन, संस्कृती प्रवर्धन, आठौं कपिलवस्तु डान्स आईडल, स्थानीय कला संस्कृतिको प्रवर्धन, ख्याति प्राप्त राष्ट्रिय कलाकारको दैनिक प्रस्तुती, विशेष बालउद्यान सहितको मनोरञ्जन पार्क रहेका कारण दशौ दिनसम्म पनि दर्शकले भरपुर साथ दिएका हुन् । महोत्सवमा विहिबार मात्र १० हजार दर्शकले अवलोकन गरेका छन भने ५० लाखको आर्थिक कारोबार भएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७५ शुक्रबार ००:००  १ : ३६ बजे