४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

प्रदेश ५ मा सवारी दुर्घटना : १० जनाको घटनास्थलमै मृत्यु



कपिलवस्तु ।
प्रदेश ५ मा बिहिबार एकैदिन भएका दुई दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन् । पाल्पामा बिहीबार बेलुकी भएको जीप दुर्घटनामा चालकसहित ४ जनाको ज्यान गएको छ ।
पूर्वखोला गाँउपालिकाको जल्पाबाट बहादुरपुर जाँदै गरेको लु १ ज २६५३ नम्बरको जीप आर्गिडाँडा ओढारे भन्ने स्थानमा दुर्घटना हुँदा चालक २२ वर्षीय वीरेन्द्र रानासहित ४ जनाको घटनास्थलमै ज्यान गएको वडा अध्यक्ष निरबहादुर सारुले जानकारी दिनुभयो ।
दुर्घटनामा परि घाइते भएका ५ जनालाई उपचारका लागि सदरमुकाम तानसेन पठाइएको अध्यक्ष सारुले बताउनुभयो । बिहीबार बेलुकी ८ बजे तिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जीप सडकबाट करिब ५ सय मिटर तल खसेको स्थानीय सपना सारुले जानकारी दिनुभयो । दुर्घटनामा ज्यान गुमाएकाहरुको शव निकाल्ने प्रयास भैरहेको जनाइएको छ । यसअघि दाङमा भएको जीप दुर्घटनामा बेहुलाको आमाबाबु सहित ६ जनाले ज्यान गुमाएका छन् ।
चितवनको गीतानगरबाट दुलही लिएर बाँकेको शम्शेरगञ्ज फर्किदै गरेको बा१२च ३१२२ नंको स्कारपियो जिप र महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको ना५ख ४०९० नंको बस दाङको लमही नगरपालिका–९ को रिहार नजिक गए राति पौने २ बजे एकापसमा ठोक्किँदा स्कारपियोमा सवार आठमध्ये छ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रकाशित मिति : २८ मंसिर २०७५ शुक्रबार ००:००  १२ : २० बजे