४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

दशौं कपिलवस्तु महोत्सवको आज दशौं दिन, गायक भट्टराई र गायिका पौडेलको प्रस्तुती रहने



मायादेवी अनलाइन, वाणगंगा । 

कपिलवस्तुको बाणगंगास्थित बुद्धरंगशालामा जारी दशौं कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको नवौँ दिन पनि दर्शकले साथ दिएका छन् । कृषिजन्य व्यवसाय तथा उत्पादनको प्रवर्धन, पर्यटन प्रवर्धन, संस्कृती प्रवर्धन, आठौं कपिलवस्तु डान्स आईडल, स्थानीय कला संस्कृतिको प्रवर्धन, ख्याति प्राप्त राष्ट्रिय कलाकारको दैनिक प्रस्तुती, विशेष बालउद्यान सहितको मनोरञ्जन पार्क रहेका कारण नवौँ दिनसम्म पनि दर्शकले भरपुर साथ दिएका हुन् । बुधबार मात्र महोत्सवमा ८ हजार दर्शकले अवलोकन गरेका छन भने २५ लाखको आर्थिक कारोबार भएको छ ।

यसैबीच महोत्सवको नवौँ दिन बुधबार पहिलोपटक भेँडा जुधाई कार्यक्रमले दर्शकको मन जितेको छ । जिल्लामा यसप्रकारको कार्यक्रम पहिलोपटक भएकाले दर्शले यसलाई चासोका साथ हेरेका थिए ।

यस्तै बुधबार लोक तथा दोहोरी गायक कुलेन्द्र विश्व कर्मा, सम्झना भण्डारी र छमछमी कला केन्द्रले आफ्नो प्रस्तुति देखाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । महोत्सवमा आज दशौँ दिनको आकर्षकको रुपमा आधुनिक तथा पप गायक रमेश राज भट्टराई, लोक गायिका मञ्जु पौडेल र डान्स आइडलका उत्कृष्ट ५ जनाको प्रस्तुति रहेको छ ।

महोत्सवको नवौ दिन सम्म आइपुग्दा एक लाख भन्दा बढि दर्शकले अवलोकन गरेको कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक उमानाथ पौडेलले बताउनुभयो । महोत्सवको सांस्कृतिक कार्यक्रम तर्फ राष्ट्रिय तथा स्थानीय कलाकारले विभिन्न प्रस्तुती दिइरहेको संयोजक पौडेलले बताउनुभयो ।

त्यस्तै महोत्सव स्थल भित्र रहेको सचिवालय र बुद्धको मूर्तिमा फोटो खिचाउने दर्शकहरुको भिड लाग्ने गरेको छ । महोत्सवमा आउने दर्शकहरुले बुद्धको मुर्ति अघि सेल्फी खिचेर फोटो आफ्नो फेसबुकमा राख्ने होड नै चलेको छ ।

यसैबीच महोत्सवमा कृषि स्टलमा पनि दर्शकको भीँड लागेको छ । महोत्सव स्थलमै माछा मारेर ग्राहकले ताजा र स्वादिलो माछा खाएर छुटटै स्वाद लिएका छन् । महोत्सवमा कृषि औजार तथा मेसिनरीहरु प्रदर्शनीले दर्शकहरुको मन जितेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७५ बिहिबार ००:००  १२ : २१ बजे