४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रदेशसभाको हिउँदे अधिवेशन सुरु, विपक्षी दलका सांसदद्धारा सरकारको कडा आलोचना



बुटवल ।

प्रदेश नम्बर ५ को हिउँदे अधिवेशन सुरु भएको छ । गत साउन २४ गते स्थगगित भएको अधिवेशन चार महिनापछि बुधबार देखि सुरु भएको हो ।

सरकारले यस अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा लैजाने जनाएको छ । प्रदेश सरकारलाई करिव एक सय कानुन आवश्यक रहे पनि प्रदेश ५ मा अहिलेसम्म जम्मा १४ वटा विधेयक मात्रै पारित भएका छन ।

लामो समयपछि बसेको बैठकमा बोल्दै सांसदहरुले ऐन कानुन निर्माण सहित बजेट कार्यान्वयनमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन । सरकारले १५ वटा विधेयक तयारी हालतमा रहेको भन्दै अधिवेशनलाई ‘बिजनेश’अभाव नहुने दावी गरेको छ । बुधबारको संसदमा बोल्दै सत्तापक्षीय सांसदले समेत सरकारको कडा आलोचना गरेका थिए ।

संसदमा रहेको विषयगत समितिले बिजनेशन नपाएको, बजेट कार्यान्वयनमा कमजोर बनेको भन्दै सरकारलाई गति बढाउन सांसदहरुले आग्रह गर्नुभएको छ । संसदमा बोल्दै सार्वजनिक लेखा समितिका सभापति समेत रहेका कांग्रेस सांसद डिल्ली चौधरीले सरकारको गतिले जनता निराशावादी रहेको बताउनुभयो ।

प्रदेश सरकार यस्तै कमजोर बने संघीयता नै धरापमा पर्ने भन्दै संघीयता बचाउनकै लागि सरकारलाई सहयोग गर्न प्रतिपक्ष तयार रहेको उहाको भनाइ थियो । सत्तारुढ नेकपाका सांसद कृष्णध्वज खड्काले सरकारको कमजोरीले सांसदहरु निर्वाचन क्षेत्रमा जान समेत कठिन भएको बताउनुभयो । सुरुका चरणमा नीति निर्माण नहुँदा समस्या रहे पनि बजेट कार्यान्वयनका सन्दर्भमा सरकार निरिह देखिएको उहाले बताउनुभयो ।

सत्तारुढ दलका अर्का सांसद तुलबहादुर घर्तीले सरकार ऐन कार्यान्वयनमा कमजोर रहेको बताउनुभयो । उहाले जनताको चाहाना विकास निर्माण भएको भन्दै त्यसतर्फ अघि बढ्न सरकारलाई आग्रह गर्नुभयो ।

बैठकमा बोल्दै राजपाकी सांसद कल्पना पाण्डे, फोरमका सांसद सन्तोषकुमार पाण्डे, जनमोर्चाकी सांसद तारा जिसीले बोल्दै सरकारको कामप्रति असन्तोष व्यक्त गर्नुभयो । प्रदेश सभाको बुधबारको बैठकमा दुईवटा विधेयक पेश गरिएको छ ।

यस्तै प्रदेशसभामा प्रदेशको नामाकरण तथा राजनधानीको विषयमा सुझाव दिन गठन भएको विशेषाधिकार समितिको म्याद थप गरिएको छ । पहिलो चार महिनामा दुईवटा बैठक माात्रै बसेको समितिलाई थप तीन महिनाको समयावधी दिइएको सभामुख पूर्णबहादुर घर्तीले संसदलाई जानकारी गराउनुभयो । प्रदेशसभाको अर्को बैठक पुस ८ गते बस्ने छ ।

प्रकाशित मिति : २७ मंसिर २०७५ बिहिबार ००:००  १२ : १८ बजे