४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रदेश सभाको अधिवेशन आजदेखि शुरु, छलफलका लागि चार विधेयक दर्ता



बुटवल ।
प्रदेश नम्वर ५ को प्रदेश सभाको हिउदे अधिवेशन आजदेखि शुरु हुँदैछ । आज दिउसो १ बजे शुरु हुने अधिबेशनको तयारी प्रदेश सभा सचिवालयले तिब्र पारेको छ । कानुन निर्माणमा केन्द्रित हुने अधिवेशनका लागि सरकारले १५ भन्दा बढी विधेयक स्वीकृत गरिसकेको छ र ४ वटा विधेयक प्रदेश सभामा दर्ता गरिसकेको छ ।
अधिवेशनको पुर्वसन्ध्यामा मंगलबार प्रदेश सभा सचिवालयले सम्भावित कार्यसूची प्रकाशित गरेको छ । सम्भावित कार्यसूची अनुसार १ बजे बैठक शुरु भएलगत्तै प्रदेश प्रमुख उमाकान्त झाबाट प्रदेश सभाको अधिवेशन आह्वान भएको पत्र सभामुख पूर्णबहादुर घर्तीले सुनाउनु हुने छ । त्यसपश्चात सभामुख घर्तीले दोश्रो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्रहरु पढेर सुनाउनु हुने छ ।
त्यसपछि दलको तर्फबाट प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्यहरुले धारणा राख्ने कार्यसुचि छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलका तर्फबाट एक एक जनाले धारणा राख्ने छन ।
आज नै प्रदेश सभामा दुई वटा विधेयक पेश हुनेछन । प्रदेश नं. ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नम्बर ५ संघसंस्थाहरुको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश हुने प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिनुभयो ।
बैठकमा विशेषाधिकार समितिको सभापति र प्रदेश नम्बर ५ को नामाकरण र स्थायी राजधानी सम्बन्धी विशेष समितिको संयोजक चयन गरेकोबारे सभामुख घर्तिले सभालाई जानकारी गराउनु हुने छ ।
त्यस्तै प्रदेश नम्बर ५ को नामाकरण र स्थायी राजधानीसम्बन्धी विशेष समितिको प्रतिवेदन बुझाउने समय थप गरिएको सभामुख घर्तीले सभालाई जानकारी गराउनु हुने छ ।

प्रकाशित मिति : २६ मंसिर २०७५ बुधबार ००:००  १२ : २४ बजे