४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बेलको निर्णायक गोलले रियललाई सहज जित



एजेन्सी ।
रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा हुएस्कालाई पराजित गरेको छ । आइतबार भएको खेलमा रियल मड्रिडले उसैको मैदानमा हुएस्कालाई १–० गोलको कठिन जित निकालेको हो । रियलको कठिन जितमा ग्यारेथ बेलले निर्णायक गोल गरे ।
खेलको आठौं मिनेटमा नै बेलले गोल गर्दै अग्रता दिलाएका थिए । लिगको २०औं स्थानमा रहेको हुएस्कामाथि बल नियन्त्रणमा राखेपनि रियलले साँघुरो जित निकालेको हो । खेलको सुरुवाती समयमा नै लिएको अग्रतालाई अन्तिम समयसम्म राख्न सफल भयो ।
जितसँगै चौथो स्थानमा उक्लिएको रियलले अंक तालिकामा बिस्तारै सुधार गरेको छ । १५ खेलबाट २६ अंक बनाएको रियल लिगको चौथो स्थानमा रहेको छ भने लिग लिडर बार्सिलोनाभन्दा पाँच अंकले मात्रै पछि परेको छ ।
लिग लिडर बार्सिलोनाको ३१ अंक रहेको छ भने लिगको दोस्रो स्थानमा रहेको सेभिल्लाको २८ अंक रहंदा लिगको तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको पनि समान २८ अंक रहेको छ ।
आइतबार राति नै भएका अन्य खेलमा रियल बेटिसले रायो भालेकानोलाई २–० गोलअन्तरले पराजित गर्दा रियल भालेडोलिडले रियल सोसाइडेडलाई २–१ गोलअन्तरले पराजित गरेका छन् । त्यस्तै, लेभान्टे र इल्बारले भने ४–४ गोलको बराबरी खेलेका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७५ सोमबार ००:००  ४ : १० बजे