९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

ईपिएलमा भैरहवाको सानदार जित, पोखरा ४ विकेटले पराजित



काठमाडौं ।
रविइन्दर सिंहको सानदार शतकको मद्दतमा भैरहवा ग्लाडियटर्शले एभरेष्ट प्रिमियर लिग(इपिएल)को इतिहासकै सबैभन्दा ठूलो लक्ष्य भेटाउँदै आफ्नो पहिलो खेलमा पोखरा राइनोजमाथि ४ विकेटको जित हात पारेको छ ।
रविइन्दरले १ सय २५ रनको सानदार शतकीय पारी खेले । ६० बलको सामना गरेका उनले १० छक्का र ८ चौका प्रहार गरे ।
इपिएलमा प्रहार भएको यो दोस्रो शतक हो । यसअघि पहिलो संस्करणमा पञ्चकन्या तेजका आशिफ सेखले कलर्श एक्स फ्याक्टरविरुद्ध फाइनलमा १११ रनको नटआउट पारी खेलेका थिए ।
टस जितेर ब्याटिङ गरेको पोखरा राइनोज्ले एभरेष्ट प्रिमियर लिग(इपिएल)को इतिहासमा सबैभन्दा ठूलो स्कोर खडा गरेको छ ।
ओपनर रिचार्ड लेभी(दक्षिण अफ्रिका)ले विस्फोटक ब्याटिङ गरेपछि पोखराले निर्धा्रित २० ओभरमा ५ विकेट गुमाएर २ सय ७ रनको स्कोर बनाएको हो ।
लेभीले ३६ बलमा ७ छक्का र ७ चौकासहित ७९ रनको पारी खेले । नवौं विकेटमा कृष्ण कार्कीको बलमा रायन टेन ड्यासच्याटबाट क्याच आउट हुनुअघि उनले पहिलो विकेटका लागि कायल कोइट्जरसँग १ सय ४ रनको शतकीय साझेदारी गरेका थिए ।
पोखराका कप्तान समेत रहेका स्कटल्याण्डका कायलले ३७ रनमा ४ चौका र २ छक्कासहित ४७ रन जोडे। यस्तै सुनिल धमलाले ३८ तथा पाउल कालिनले नटआउट २० रन जोडे ।
भैरहवाका अविनाश बोहरा, पुनित मेहरा, कृष्ण कार्की र रायनले एक एक विकेट लिए । यसअघि अक्सनमा आधारित भएर गरिएको इपिएलको दोस्रो संस्करणको समूह चरणमा विराटनगर वारियर्शले चितवन टाइगर्स्विरुद्ध १ सय ७४ रनको स्कोर बनाएको थियो । विराटनगरको उक्त कीर्तिमानलाई भंग गर्दै पोखराले नयाँ कीर्तिमान रचेको हो ।
तर, २०१६ मा भएको इपिएलको पहिलो संस्करण अक्सनमा आधारित नभए पनि पञ्चकन्या तेजले समूह चरणमा नै सगरमाथा लेजेण्डविरुद्ध १ सय ८५ रन बनाएको थियो। सो कीर्तिमान पनि पोखराले आज भंग गरेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७५ आइतबार ००:००  ११ : ०९ बजे