९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

महोत्सव परम्परा आवश्यकता, बाध्यता या रहर के हो ?



मायादेवी अनलाइन । 

आजभन्दा करिब १०। १२ बर्ष पहिले भन्नुपर्छ, मेला र महोत्सव भनेपछि मानिसहरु हुरुक्क हुन्थे । मेला कस्तो हुने होला ? महोत्सवमा के हुन्छ होला ? मानिसमा यस्तै उत्साह जाग्दथ्यो । हजारौँ र लाखौँ दर्शकले मेलाको अवलोकन गर्दथे । मेला र महोत्सव आयोजना गर्ने भनेपछि आयोजक पनि हुरुक्क हुन्थे । मेलाको लागि विशेष स्थान हुन्थ्यो । सामान्य मेला र नाचगान आयोजना गरे पनि मेला र महोत्सव नाम दिएर आयोजना गर्न जसले पायो त्यसले हिम्मत गर्दैनथे । खुला जग्गामा मानिसहरु भेला भएर किनमेल गरेपछि मेला हुन्थ्यो । आयोजना गर्न पनि सजिलो थियो । सबैमा एक प्रकारको कौतुहलता जाग्दथ्यो मेला र महोत्सव कस्तो हुन्छ भनेर ! सिमित स्थानमा मात्र महोत्सव र मेला आयोजना हुन्थ्यो । मानिसहरु हुर्रिएर २०।२५ । ३० किलोमिटरसम्म टाढा पनि पुगेर महोत्सव अवलोकन गर्दथे । तर आजकल मेला र महोत्सवको त्यो उच्च मर्म, आकर्षण, आयतन र गहिराई घटेको छ । मानिसमा विस्तारै त्यसप्रति चासो कम हुन थालेको छ । हाम्रो मात्र स्थानमा होइन मुलुकभर नै मेला र महोत्सवमा मानिसमा जुन आकर्षण र चासो हुनुपर्दथ्यो । त्यो कम हुन थालेको सबैतिरबाट गुनासो आउँछ । यसको एउटा मात्रै कारण हो, मेला र महोत्सव जहाँ पायो त्यहाँ आयोजना हुनु र जसले पायो त्यसले आयोजना गर्नु । महोत्सव आयोजना गर्न होडबाजी नै चल्नू । आवश्यकताले भन्दा अस्वस्थ प्रतिस्पर्धा र रहरले महोत्सव सञ्चालन गर्नु, यो ठुलो विकृति हो, अस्वाभाविक कार्य हो ।

प्रदेश ५ को कुरा गर्ने हो भने यो समय लगभग ६ जिल्लामा महोत्सव भैरहेका छन् । कतिपय स्थानमा त एकै महिनामा २ फरकफरक आयोजकबाट मेला र महोत्सवको आयोजना भइरहेको छ । कपिलवस्तु र रुपन्देहीको कुरा गर्ने हो भने रुपन्देहीमा २ महिनाको अन्तरमा ४ वटा वृहत महोत्सव छन् । रुपन्देहीको सैनामैनामा भर्खरै सैनामैना महोत्सव सकिएको छ भने तिलोत्तमा महोत्सव पनि सकिने चरणमा छ । रुपन्देही व्यापार संघको आयोजनामा लगत्तै लुम्बिनी एक्स्पो २०१८ हुँदै छ भने भैरहवामा पनि महोत्सव हुँदै छ । यस्तै कपिलवस्तुमा त झन् एकै महिनाको अन्तरमा २ महोत्सव भएका छन् । पाँचौ चन्द्रौटा महोत्सव सकिएको छ भने अब मंसिर १८ गते देखि पौष ३ गतेसम्म दशौँ कपिलवस्तु महोत्सव तथा कृषि पर्यटन महोत्सव हुँदै छ ।

चन्द्रौटा महोत्सवका टेन्ट, पाल र पण्डाल उठ्न नपाउँदै यता बाणगंगा ४ जितपुरस्थित बुद्ध रंगशालामा मंसिर १८ गतेदेखि पौष ३ गतेसम्म १० औँ कपिलवस्तु महोत्सव सञ्चालन भइरहँदा यसले कपिलवस्तु बासीमा प्रश्न चिन्ह खडा गरेको छ कि, एकै महिनामा किन चाहियो यो ? सके बर्षमा सम्पूर्ण कपिलवस्तुबासी मिलेर एउटा भव्य महोत्सव गरौँ, सकिन्न भने नगरौँ । तर एकै महिनामा जुधाएर किन महोत्सव राख्ने ? आखिर महोत्सव अवलोकन गर्ने दर्शक त जिल्लाकै नै हुन् । सुनिदैँ छ कताकता बुद्धभूमि नगरपालिकामा पनि बुद्धभूमि महोत्सव संचालन हुँदै छ रे ।

आवश्यकताले महोत्सव हुन्छन् भने यसलाई सहर्ष स्विकार गर्न सकिन्छ । जनताले पनि राम्रै लिन्छन्, समयको माग अनुसार गर्नु पनि पर्छ तर एकले अर्कोलाई पछि पार्ने नियतले यसो गरिएको हो भने त्यसले आयोजकलाई त राम्रै लाभ देला तर जिल्लाबासीलार्ई राम्रो सन्देश दिँदैन । कतिपय स्थानमा रहर, फेसन र अस्वस्थ प्रतिस्पर्धाको रुपमा मेला महोत्सव आयोजना हुन्छन् त्यो किमार्थ राम्रो होइन । एकै महिनामा कपिलवस्तुमा २ महोत्सवमा करोडौँ खर्च भएको छ । अब हुने महोत्सवमा पनि त्यो खर्च हुनेवाला छ । कपिलवस्तुको हकमा मेला महोत्सव गर्नुपर्छ भनेर चार नम्बर जितपुरबाटै सुरु भएको हो । कहिले कपिलवस्तु उद्योेग बाणिज्य संघ त कहिले बाणगंगा स्पोर्टस एण्ड वेलफेयर सोसाइटीले आलोपालो गर्दै मेला आयोजना गरी १० औँ बर्षसम्म पुगेको अवस्था छ । यो राम्रो कुरा हो । आवश्यकता र जनताको चाहना अनुसार बर्षमा एक पटक यस्ता कार्यक्रम आयोजना हुँदा जिल्लाको धार्मिक, सामाजिक र पर्यटकीय गन्तव्यले प्रवद्धन हुने मौका पाउँछन् । तर पछिल्ला समय अस्वस्थ प्रतिस्पर्धाको रुपमा जसरी नगरपालिका र गाउँपालिका स्तरमा जुन महोत्सव भैरहेका छन् यसले राम्रो गर्दै गर्दैन । कतिपय मेलामा दैनिक सय, डेड सय, चार सय दर्शकको उपस्थितिले पनि मेलाप्रति जनतामा आकर्षणभन्दा पनि विकर्षण थपेको देखिन्छ ।  मेला महोत्सव आयोजना गरे सिमिति व्यक्तिले आर्थिक लाभ त लिन सक्छन् तर महोत्सवको अर्थ र परिभाषामा अन्याय हुन्छ । बजार र रमाइलो कार्यक्रमका रुपमा मेला हुनु भनेको विडम्बना हो ।

अब मेला र महोत्सव भनेको एउटा जिल्लामा एउटा मात्र हुनु पर्दछ । तब मात्र त्यसको गरिमा बढ्छ । आयोजकको पनि लक्ष्य पुरा हुन्छ । दर्शकले पनि फरक अनुभूति पाउँछन् ।  नगर, गाउँपालिका र टोलैपिच्छे मेला र महोत्सव हुँदा यसले कसैलाई फाइदा गर्दैन । उल्टै श्रम र रोजगार गर्ने व्यक्तिको समयलाई बर्बाद गराउँछ । आयआर्जनमा सामेल हुने मान्छे पनि बेकारमा समय खेर फाल्न बाध्य हुन्छन् । वास्तवमा भन्ने हो भने समय र पैसा दुवै बर्बाद हुन्छ । यसकारण अस्वस्थ प्रतिस्पर्धा गरी महोत्सव आयोजना गर्ने परम्परा अन्त्य हुनु पर्दछ । जिल्लामा फरक फरक आयोजकले फरकफरक स्थानमा मेला महोत्सव आयोजना गर्ने होइन । गरिँदै आएको महोत्सवलाई फरक ढंगले संचालन गर्नू समयको माग हो । अब जिल्लामा मात्र एउटा महोत्सव हुनु पर्दछ । बरु भइरहेको महोत्सवको आयतन, गरिमा र आकार बढाएर यसलाई प्रदेश स्तरीय बनाउने हो कि राष्ट्रिय अन्तर्राष्ट्रिय कस्तो बनाउने हो, त्यसमा वहस गर्नु पर्दछ । यसो गरियो भने भिन्न महोत्सवमा हुने करोडौँ खर्च एकै जोगिने छ ।  दर्शकले पनि मज्जाले महोत्सवको आनन्द लिन पाउँनेछन् । आयोजकको लक्ष्य पनि हासिल हुने छ । समग्रमा भन्दा त्यो समयको माग हुने छ र नमुना बन्ने छ ।

प्रकाशित मिति : २३ मंसिर २०७५ आइतबार ००:००  १० : २४ बजे