सलिम अन्सारी, प्युठान ।
भीर, पहरा, छाँगा र छहराको संयोग । वसन्त र शरद ऋृतुमा गुराँस र अनेकौ फुलहरुले राताम्मे हुने जैविक विविधता बाइसमुलमा मलेवा चराको अदभुत प्रदर्शन । बाईसमुल झरनाको छङछङ सुस्केरा । सूर्योदयको बिहानीको दृश्य ।
सधैं कञ्चन जलाधारहरुले लुकामारी खेलिरहने गौमुखी क्षेत्र साच्चिकै अप्सरा जस्तो छ । जुन प्रकृतीमा रम्नेहरुका लागि स्वर्ग नै हो । प्युठानकै स्वर्गद्धारीपछिको गौमुखी अर्को उत्कृष्ट पर्यटकीय गन्तव्य पनि हो । तर उचित प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।
पहिलो पटका पुग्नेहरु त गौमुखी मै रमिरहन्छन् । प्रकृति र मनोरम दृश्यसँग अल्मलिरहन्छन् र फर्किएपछि पनि मनमा गौमुखी बोकिरहन्छन् । झिमरुक नदीको उद्गमस्थल गौमुखीमा माघ १ मा नुहाउन ठूलो मेला लाग्ने गर्छ ।
गौमुखी क्षेत्र प्राकृतिक सौन्दर्यले धनी छ । ओखरकोटको सूर्योदय, टापुबाट देखिने हिमशृखलाको अवलोकन, मगर समुदायको साँस्कृतिक जीवनशैली र जीवन कलाले पाहुनाहरुलाई सजिलै आकर्षित गर्छ ।
के छन् आकर्षक कुरा ?
ओखरकोटको रक गार्डेन, ऐतिहासिक कोटघर, झिमरुक आसपासका साना खोचबेशी, बाढिकोटको गढिकोट, पुजाको तामाखानी, लिवाङको स्नाथान, दियाल्नाचौर, तुषाराकोट, खुङ्का गुफाहरु रजवाराको मगर संस्कृती, बाङ्गेमरोठको कौछेको राजनीतिक स्थानको महत्व उस्तै छ ।
बिविध जातजातिको संगमस्थल गौमुखीका मुख्य आकर्षण हुन् । जनजातिहरुको मौलिक संस्कृती कतै जीवन्त छ भने त्यो उपल्लो प्युठानको गौमुखीमा छ । गौमुखीका खास बिशेषता र आकर्षण पनि यीनै कलाकौशल, भेषभुषा र संस्कृती हुन् ।
गौमुखी मगर समुदायहरुको थातथलो हो । स्थानीय कला संस्कृती र खानपानमा रमाउँदै अध्यन अवलोलन गर्ने रुचाउनेहरु यहाँ पुग्छन । तर प्रयाप्त सेवा सुविधा हुन नसक्दा गाउँको होमस्टे धान्नसमेत स्थानीयलाई धौधौ छ ।
कसरी पुग्ने ?
गौमुखी समुन्द्री सतहदेखि एक हजार ५ सय मिटरको उचाईमा छ । अर्खाको ठूलाचौरसम्म यातायात पुगेकाले झण्डै ३ घण्टा हिडेर गौमुखी पुग्न सकिन्छ । प्यूठानको बाग्दुलाबाट ३४ किलोमिटरको दुरीमा छ गौमुखी ।
काठमाडौंबाट दाङको भालुवाङ हुँदै प्युठानको बाग्दुला ठूलाबेशी पुगिन्छ । यहाँबाट करिब ४० किलोमिटर दुरीको गाडीको यात्रापछि अर्खाको ठूलाचौर पुग्न सकिन्छ । ठूलाचौरबाट झन्डै पौने एक घण्टा पैदल यात्रापछि गौमुखी मन्दिरमा पुग्न सकिन्छ । प्युठानको स्वर्गद्धारी दर्शन गरेर पनि गौमुखी पुग्न सकिन्छ ।
ढाँडबाट इस्नाथान, मुर्चुललेक र लाँलीगुरास रंगशाला हेरेर दहीहाल्नाबाट डाँडैडाँड हिमाल हेर्दै पूजा–डाडाँकटेरी हुँदै दलित होमस्टे बाग्लिबाङ पुगिन्छ । पूजा तामाखानी हुँदै रजबारा कालेपुनको घाँटी, झाँक्री ढुंगा तिखाचुली लेकको भेडीगोठसम्मको पदमार्गबाट गौमुुखी पुग्न सकिन्छ । अर्खा ठूलाचौर मगर होमस्टेमा बास बसेपछि एक साताको प्याकेजमा यो पदमार्गमा यात्रा पूरा गर्न सकिने रतिमान राना बताउँछन् ।
के गरियो ? के गरिएन ?
गौमुखीको पर्यटन प्रबद्र्धनका लागि गाउँपालिकाले गत र्वा १० लाख रुपैयाँ विनियोजन गरेको थियो । यो वर्ष पनि ८ लाख रुपैयाँ बिनियोजन गरेको गौमुखी गाउँपालिका अध्यक्ष बिष्णुकुमार गिरी बताउँछन् ।
यस क्षेत्रको विकासका लागि पर्यटन कार्यालयले बजेट दिँदै आएको छ । त्यही पैसाले गौमुखी पुग्ने बाटो फराकिलो बनाइएको छ भने रेलिङ पनि बनाइएको छ ।
दुर्गम ठाउँ भएका कारण पर्यटकीय पुर्वाधारको अभाव रहेकाले यहाँको पर्यटन प्रवद्र्धनका लागि राज्यले विशेष पहल गर्नुपर्ने गौमुखी गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष डोरबहादुर राना बताउँछन् । गौमुखीलाई चिनाउने गरी मिडिया सम्मेलन गर्ने तयारी भइरहेको उनको भनाई छ ।
तर, स्थानीय तहले जसरी यसको प्रवद्र्धका लागि ध्यान दिनुपर्ने हो, त्यो चाँही गरेको छैन । पर्याप्त ध्यान नदिँदा गौमुखी पर्यटनको बजार हिस्सा बन्न सकेको छैन । गौमुखी क्षेत्रका साविकका १० वटा गाविसलाई समेटेर समुदायको प्रयासमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न थालिए पनि प्रयाप्त छैन ।
सम्पदाको संरक्षण आधारभुत पूर्वाधार निर्माण पर्यटन शिक्षा होम स्टे सञ्चालन नयाँ गन्तव्यहरुको खोजी पदमार्ग निर्माणका कामहरु हुन थालेका पनि छन् । तर उनीहरुको प्रयास पनि सार्थक हुन सकेको छैन ।
गौमुखीको प्रचारप्रसार गर्न सके आर्थिक विकासमा जिल्लाको मुहार परिवर्तन गर्न सकिने सम्भावना रहेको प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले बताउँछन् । ‘स्थानीयले यसलाई आयआर्जनसँग जोडनुपर्छ,’ उनले भने, ‘यसले रोजगारीको ढोका पनि खोल्ने छ ।’
प्रतिक्रिया