मायादेवी अनलाइन, बुद्धभूमि ।
बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले जनप्रतिनिधिको ५ बर्षे कार्यकालमा नगरपालिकालाई शिक्षामा जिल्लाकै नमुना बनाउने बताउनुभएको छ । ए वान मिडिया सेन्टरले आयोजना गरेको जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगीताको उद्घाटन गर्दै शिक्षामा नगरलाई अब्बल बनाउने बताउनुभयो ।
बुद्धभूमि नगरपालिकामा अझै पनि शिक्षाको गुणस्तर कम भएको र विद्यालयले विद्यार्थीका अन्तरनिहित प्रतिभालाई उजागर गर्न सिर्जनात्मक कार्य गर्नु पर्छ भन्ने मान्यता कम भएका कारण अबको ४ बर्ष भित्र हरेक विद्यालयलाई नमुना बनाउन आफु अवरोत्र लाग्ने बताउनुभयो ।
शिक्षकको काम केबल पढाउने मात्र नभई उनीहरुमा रहेको प्रतिभालाई चिन्नु ठूलो कुरा भएको भन्दै हाजिरीजवाफ, गायन, नृत्य, बक्तृत्वकला, बादविवाद र खेलकुदका हरेक क्रियाकलाप विद्यालयले सञ्चालन गर्न अनिवार्य भएको बताउनुभयो । एउटा विद्यालयले गर्ने काम मिडियाले गरेको भन्दै नगरले पनि यस्ता कार्यक्रमलाई हरेक बर्ष सहयोग गर्दै जाने भन्दै कार्यक्रमको प्रशसा गर्नुभयो ।
कार्यक्रममा नगरका शिक्षा शाखा प्रमुख खिम बहादर जिसीले सामुदायिक र संस्थागत दुवै विद्यालयहरु समाजको खम्बा भएकाले यस्ता कार्यक्रममा समान सहभागीताको आवश्यकता औल्याउनुभयो । उहाले आफ्नो तर्फबाट यस्ता कार्यक्रमहरुलाई भावी दिनमा सक्दो सहयोग गर्ने बताउँदै शिक्षक, विद्यार्थी र अभिभावकलाई किताबी ज्ञानमा सिमित नहुन आग्रह गर्नुभयो ।
कार्यक्रम ए वान मिडियाका प्रबन्ध निर्देशक दिपेन्द्र कार्कीको सञ्चालन, अध्यक्ष दिपक अनुरागीको अध्यक्षतामा तथा निर्देशक चन्द्रकान्त न्यौपानेको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । ए वान मिडिया सेन्टरले अब छिट्टै वाणगंगा नगरपालिकामा पनि प्रतियोगीता सञ्चालन गर्ने जनाएको छ ।
२२ मंसिर २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया