८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कपिलवस्तु महोत्सव : ६ हजार दर्शकद्धारा अवलोकन, २५ लाख बढीको कारोबार



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बाणगंगा ४ जितपुरमा रहेको बुद्ध रंगशालामा जारी दशौं कपिलवस्तु महोत्सव तथा कृषि औद्योगिक प्रदर्शनीमा विहीबार २५ लाख बढीको आर्थिक कारोबार भएको छ । महोत्सव सचिवालयका अनुसार विहीबार ६ हजार दर्शकले मेला अवलोकन गरेको र २५ लाख बढी कारोबार गरेको जनाइएको छ ।
बुधबार ४ हजार दर्शकले मेला अवलोकन गरेका थिए भने ८ लाखको मात्र कारोबार भएको थियो । सचिवालयका अनुसार अझै दर्शकको संख्या थप बढ्ने र आर्थिक कारोबारहरु पनि बढ्ने अपेक्षा छ । आज शुक्रबार पनि भएकाले दर्शक थप बढ्ने अनुमान गरिएको छ ।
यस्तै महोत्सवमा राखिएका कृषि स्टलमा विहीबार पनि दर्शकको भीड रहेको थियो । यसपटक महोत्सवमा कृषि सम्बन्धि औजर, प्रविधि, अन्तक्रिया, छलफलजस्ता कार्यक्रम राखिएकाले कृषि स्टलमा गएर अवलोकन गर्ने र कृषि जानकारी लिनेहरुको भीँड बढेको जानकारी दिनुभयो ।
महोत्सवमा निशुल्क माटो परीक्षण राखिएकाले आफ्नो खेतबारीको माटो परीक्षण गराउने कृषकको पनि त्यत्तिकै भीँड छ । यस्तै महोत्सवमा मकै छोडाउने मेसिन र बीउबीजन छर्ने मेसिनलाई पनि कृषकले रुचाएका छन् ।
यसैगरी महोत्सवमा किनमेल गर्नेको पनि भीँडभाड बढेको छ । अरु समयमा भन्दा महोत्सवको बेला सस्तो र हरेक सामान एकै ठाउँमा पाइने भएको हुँदा किनमेल गर्न आउनेको संख्या बढेको महोत्सव सचिवालयका सदस्य दोलखराम घिमिरले जानकारी दिनुभयो । विशेष गरी जाडोका लत्ता कपडाहरु, जस्तै जकेट, स्विटर, कम्मल, सिरक किन्नेको भीँड देख्न सकिन्छ ।
महोत्सवमा सांस्कृतिक कार्यक्रमलाई पनि दर्शकले रुचाएका छन् । विहीबार सुवोध गौतम, लोक दोहोरी गायिका सपना गाह तथा लोक दोेहोरी गायक कृष्ण रेउँले लगायतको प्रस्तुतीबाट दर्शकलाई मनोरंजन प्रदान गरेका थिए । महोत्सवमा शुक्रबारको आकर्षणको रुपमा आधुनिक गायक रुपक डोटेल, लोक दोहोरी गायक खेम सेन्चुरी र लोक दोहोरी गायिका टिका तारामी मगर रहेका छन् ।
यसैबीच महोत्सवको आठौँ डान्स आइडल थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्दै गएको छ । बुधबारबाट सुरु भएको आइडलबाट विहीबार दुई जना बाहिरिएपछि आइडल थप रोचक र प्रतिस्पर्धात्म बनेको हो । बुधबार गरेको प्रस्तुतिको आधारमा विहीबार कमला रजाली र जेनी थारु बाहिरिएका छन् । दर्शकको भोट र निर्णायक मण्डलको निर्णयबाट हरेक दिन २ जना बारिदै जानक्रममा उनीहरु बाहिरिएका डान्स आइडल संयोजक वीरेन्द्र खाँणले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २१ मंसिर २०७५ शुक्रबार ००:००  १२ : २५ बजे