४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नयाँ शक्तिको ‘पाँच महिना, पाँच काम र पाँच परिणाम’ अभियान सुरु



भुपाल थापा, कपिलबस्तु । 

नयाँ शक्ति पार्टी नेपाल कपिलबस्तुले ‘पाँच महिना, पाँच काम र पाँच परिणाम’ भन्ने अभियानका साथ संगठन विस्तारको कामलाई अगाडि बढाएको जनाएको छ । तौलिहवामा आयोजित ११ औं पूर्ण बैठकमा बोल्दै पार्टीका प्रदेश इन्चार्ज दान बहादुर चौधरीले राजनीतिक दलहरूको बीचमा पार्टीलाई वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने योजनाका साथ अभियान सञ्चालन गर्ने जानकारी दिए । प्रदेश पाँचमा पाँच महिना, पाँच काम र पाँच परिणाम भन्ने अभियानका साथ आफ्नो संगठन विस्तारमा सक्रिय रहेको बताए । संगठन सुदृढिकरण, सामाजिक आन्दोलन र राजनीतिक दलहरूका बीचको ध्रुविकरणलाई प्रमुख अभियानको रूपमा लिएको केन्द्रिय सदस्य यज्ञ पोख्रेलले बताए । तर राजनीतिक ध्रुविकरण भने ठूला दलहरूसँग नभई साना दलहरू रहेको उनले स्पष्ट पारे ।

अहिलेको राजनीतिक जमातसँग भन्दा आफूहरूको अभियान भविष्यका नयाँ मतदाताहरू लक्षित रहेको नयाँ शक्ति नेपालका कपिलबस्तुका जिल्ला संयोजक नारायण खनालले बताए । अहिलेको लागि राजनीति नगर्ने तर अभियान ५ वर्षपछि तयार हुँदै गरेको नयाँ मतदाता पंक्ति लक्षित रहेको संयोजक खनालले बताए । केन्द्रिय सदस्य रामलौटन तिवारीले सत्तासिन र विपक्षी कुनै पनि दलहरूले जनताको पक्षमा आवाज नउठाएको भन्दै पार्टीले मिडिया र सामाजिक सजालमा उठाइएका मुद्दाहरूलाई छोपेर अभियानलाई केन्द्रित गरेको बताए ।

कार्यक्रममा नयाँ शक्ति पार्टीका केन्द्रिय सदस्य बिष्णुहरी शर्माले राजनीतिक व्यवस्था फेरिए पनि जनताको जीवनस्तरमा कुनै पनि परिवर्तन नआएको बताए । बैठकले कपिलबस्तुमा १५०० सदस्य बनाउने, १० वटा स्थानीय तहको बैठकको प्रशिक्षण गर्ने, सदस्यता नविकरण गर्ने, जिल्लाको २० स्थानमा कोणसभा गर्ने, घरदैलो तथा आर्थिक सहयोगको संकलन गर्ने, पर्चा बितरण गर्ने, बृहत धुब्रिकरण गर्ने, माघदेखि चैत्रसम्म स्थानीय तहको अधिवेशन गर्ने लगायतका निर्णय गरेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७५ बिहिबार ००:००  ४ : ४९ बजे