४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मानवीय संकट निम्त्याएको यमनको गृहयुद्ध अन्त्यको प्रयासमा वार्ता हुँदै



एजेन्सी ।
यमनमा झण्डै चार वर्षदेखि जारी गृहयुद्ध अन्त्य गर्ने प्रयास स्वरुप संयुक्त राष्ट्रसंघको प्रयासमा स्वीडेनमा वार्ता हुँदैछ ।
साउदी अरेबियाको समर्थन रहेको यमन सरकार र हुथी बिद्रोहीबिच वार्ता हुन लागेको हो । जोनसबर्गमा हुने वार्तामा संयुक्त राष्ट्रसंघको एक टोलीले सहजीकरणको काम गर्नेछ ।
यमनमा सन् २०१५ देखि जारी हिंसाका कारण विश्वकै सबैभन्दा भयानक मानवीय संकटको अवस्था सिर्जना भएको छ । हिंसाका कारण हजारौँ मानिसको ज्यान गएको छ भने लाखौँ मानिस भोकमरीको चपेटामा परेका छन् ।
सन् २०१६ मा वार्ताको प्रयास भएको थियो । त्यो बेला वार्ता निष्कर्षमा पुग्न सकेन । गएको सेप्टेम्बरमा शान्ति स्थापनका लागि वार्ता गर्ने प्रयास भएको थियो । तर हुथी बिद्रोहीका प्रतिनिधि जेनेभामा उपस्थित नभएपछि वार्ता कोल्याप्स भएको थियो ।
अहिलेको वार्ता कम्तिमा मानवीय संकट समाधान गर्ने प्रयासका लागि सार्थक बनाउने गरी अघि बढाउने तयारी गरिएको छ । हुथी बिद्रोहीको नियन्त्रणमा रहेको रेड सी को तटीय क्षेत्रमा घेरा बन्दीका कारण लाखौँ मानिस भोकमरीको अवस्थामा पुगेका छन् ।
संयुक्त राष्ट्रसंघले यमनको भोलिको राजनीतिक समाधानको खाकासहित वार्ताको तयारी गरेकाले आशा गरिएको छ ।
जारी हिंसाको क्रममा ८५ हजारको हाराहारीमा पाँच वर्षमुनिका बालकालिको कुपोषणका कारण ज्यान गएको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सहयोगी संस्था सेभ द चिल्ड्रेनले निकालेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
गएको महिना संयुक्त राष्ट्रसंघले यमनमा एक करोड ४० लाख मानिस भोकमरीको जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरेको थियो ।
हिंसाका कारण यमनको ठूलो क्षेत्र पूर्ण रुपमा पुनर्निर्माण गर्नु पर्ने गरी ध्वस्त भएको छ । हुथी बिद्रोहीविरुद्ध साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले सन् २०१५ मा यमनमा हवाई आक्रमण सुरु गरेको थियो । हुथी बिद्रोहीले यमनका राष्ट्रपति मन्सुर हादीलाई विस्थापित गरेपछि साउदी अरेबियाले आक्रमण थालेको हो ।
संयुक्त राष्ट्रसंघका अनुसार यमनमा जारी हिंसाका कारण अहिलेसम्म कम्तिमा ६ हजार ८०० सर्वसाधारणको ज्यान गएको छ । यस्तै १० हजार ७०० भन्दा बढी घाइते भएका छन ।
हिंसा तथा गठबन्धन सेनाले विभिन्न क्षेत्रमा गरेको नाकाबन्दीका कारण दुई करोड २० लाख भन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको छ । यमनमा अहिले विश्वकै सबैभन्दा ठूलो खाद्य आपतकालको अवस्था छ । यस्तै हैजको महामारीका कारण १२ लाख मानिस प्रभावित भएका छन ।

प्रकाशित मिति : २० मंसिर २०७५ बिहिबार ००:००  ६ : ३० बजे