४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कृषि मैत्री महोत्सव, ‘जहाँ नयाँ नयाँ प्रविधी अवलोकन गर्न सकिन्छ’



गीता अर्याल, कपिलवस्तु ।
विगतको भन्दा नयाँपन खोजीरहेको कपिलवस्तु उद्योग वाणिज्य संघले दशौ कपिलवस्तु महोत्सवलाई कृषिमा विविधतायुक्त प्रदर्शनी गरेको छ । कृषकलाई लक्षित गरेर धेरै भन्दा धेरै जानकारी, सूचना र मनोरञ्जन दिदै महोत्सवलाई यसपटक कृषिमय प्रदर्शनी बनाएको छ । महोत्सवमा कृषिसंग सम्वन्धित स्टलहरुमा दर्शकहरुको भिडभाड बढेको छ । महोत्सवको मुल नारामै केन्द्रित भएर कृषि तथा पर्यटन प्रवर्धनको विकास र प्रचार प्रसारलाई महत्व दिन खोजिएको महोत्सवका संयोजक उमानाथ पौडेलले जानकारी दिनुभयो । महोत्सवमा विविधता तथा नयाँपन ल्याउदै कृषि र पर्यटन मार्फत समृद्ध बनाउन लागिरहेको संयोजक पौडेलको भनाइ छ ।
यही मंसिर १८ गते देखि पुस १ गते सम्म बुद्धरंगशाला चारनम्बरमा सञ्चालित महोत्सवमा कृषि, बन तथा जडिबुटी व्यवस्थापन उपसमितिले विशेष जोड दिएको हो । उपसमितिले कृषि तथा बनजन्य वस्तुहरुको प्रदर्शनी, उपयोग र नयाँ प्रविधीको जानकारी दिएको उपसमिति संयोजक कृति मल्लले जानकारी दिनुभयो । उहाँले मुलुकको आर्थिक सम्बृद्धिमा कृषि क्षेत्रको सम्भावना धेरै भएकाले कृषिको प्रवर्धन, विकास र प्रचारप्रसारमा महोत्सवले जोड दिएको संयोकज मल्लले बताउनुभयो । महोत्सवमा डिभिजन बन कार्यालय कपिलवस्तु, शिवराज साझेदारी बन व्यवस्थापन समिति र नेपाल बन पैदावर उद्योग व्यवसायी संघको संयुक्त आयोजनामा विभिन्न बहुमुल्य १३ हजार विरुवा निशुल्क वितरण गरिने बताइएको छ । महोत्सवको अवधीभर व्यक्तिगत तथा समूहगत रुपमा वितरण गरिने विरुवाहरुमा सिसौं, सतीसाल, हर्रोबर्रो लगाएतका छन् ।
महोत्सवमा कृषि तर्फ विभिन्न नयाँ नयाँ प्रविधीको प्रदर्शनी गरेर कृषकलाई जानकारी दिइने छ । कृषि क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधीहरुको बारेमा प्रत्यक्ष सरोकारवाले जानकारी पाउनेछन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान सुपर जोन कार्यालयका प्रमुख मुकुन्द भुसालले कृषिजन्य मेसिनरीको प्रदर्शनीले यसक्षेत्रका कृषकलाई धेरै सुविधा पुग्ने बताउनुभयो । कार्यालयका बरिष्ठ कृषि अधिकृत भुसालका अनुसार महोत्सवमा मेसिनरी उपकरण, धानमा प्रयोग हुने पावर टिलर, रिपर, नजोतिकन विउ छर्न मिल्ने सिड ड्रिल मेसिन, मिनि कम्बाइन हार्वेस्टर, ठुलो कम्वाइन हार्वेस्टर, सोलारबाट विषादी छर्ने स्प्रेहरु, पानी तान्ने पम्महरु लगाएतका प्रविधीले कृषकहरुलाई धेरै लाभ हुनेछ । महोत्सव अवधीभर माटो तथा बाली परिक्षणको पनि व्यवस्था मिलाइएको छ ।
तरकारी जोनले कृषकहरुको उत्पादन र प्रदर्शनीलाई जोड दिएको छ । वाणगंगा नगरपालिकाको कृषि शाखाले पनि किसानलाई सहुलिएत र जानकारी दिन कृषिजन्य प्रदर्शनीलाई व्यापक बनाएको कृषि शाखाका पदम घिमिरले जानकारी दिनुभयो ।
्“कृषि र पर्यटनमा आधारित उद्योग व्यापार ! समृद्ध र सुखि कपिलवस्तु निर्माणको आधार !! भन्ने मूलनाराका साथ सञ्चालन हुन लागेको महोत्सव विगतको भन्दा फरक हुने महोत्सव मूल आयोजक समितिका निर्देकश रुक बहादुर भुसालले बताउनुभयो ।

प्रकाशित मिति : २० मंसिर २०७५ बिहिबार ००:००  २ : ५० बजे