४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

दशौं कपिलवस्तु महोत्सवका कृषि स्टलहरुमा दर्शकको भीड, के छ र त्यस्तो ?



दीपा महत, वाणगंगा ।
दशौं कपिलवस्तु महोत्सवमा कृषि स्टल तर्फ दर्शकको आकर्षण बढेको छ । महोत्सवको दोेस्रो दिन बुधबार दर्शकहरुले कृषि स्टलहरुको अवलोकन गर्दै जानकारी लिएका छन ।
विगतका बर्षहरुमा भन्दा यसपटक कृषिलाई आयोजकले विशेष प्राथमिकता दिएको छ । कृषिमा कृषि औजार, कृषि प्रविधि, अन्नपात, विउविजन आदिको बारेमा विशेषज्ञले किसानहरुलाई जानकारी गराईरहेका छन भने कृषि औजारको प्रयोग र आवश्यकता सम्बन्धि तालिम पनि दिइएका कारण दर्शको सहभागीता उल्लेख्य भएको कृषि अधिकृत लेस बहादुर कार्कीले बताउनुभयो ।
उहाँका अनुसार महोत्सव अवलोकन गर्न आउने दर्शकहरुले यस बारेमा प्रशस्त जिज्ञासा राखेका छन । महोत्सवमा राखिएका कृषि औजारहरु मध्ये मकै छोडाउने मेसिन, विउविजन छर्ने मेसिनमा दर्शकको चासो बढी रहेको कार्कीले बताउनुभयो ।
यसैगरी महोत्सवमा पहिलो पटक राखिएको माटो परिक्षण सेवामा पनि कृषकहरुले उत्साहजनक सहभागीता जनाएका छन । बुधबार माटो दिवस परेका कारण पनि किसानले आफ्नो खेतबारीको माटो ल्याएर परिक्षण गराएको कृषि स्टल संयोजक कृती मल्लले बताउनुभयो । किसानले माटो परिक्षण संगै माटो सुहाउँदो बाली लगाउने सम्बन्धि कुराहरुको जानकारी लिन चासो देखाएका कारण आफुहरु खुसी भएको संयोजक मल्लले बताउनुभयो ।
यसैगरी पोखरीबाट ताजा माछा निकाल्दै यसको परिकारमा पनि दर्शकको आकर्षण बढेको छ । स्वास्थको दृष्टिकोणले माछा उपयुक्त हुने हुँदा पोखरीबाट सिधै निकालेर खानमा दर्शकहरु व्यस्त देखिन्छन । त्यस्तै पैचो पसल प्रालिले राखेका घरेलु उत्पादनबाट उत्पादित सामग्रीहरु किनमेल गर्न दर्शकको भीड देखिन्छ । पैचो पसलले बिशेष गरी अचारका परिकार, आटो, पिठो, फापर तथा कोदाको पिठो विक्री वितरणका लागि राखेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७५ बिहिबार ००:००  २ : २४ बजे