४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

माटो प्रदुषण हुँदै गएको बारे सरोकारवालाको चिन्ता



मायादेवी अनलाइन, वाणगंगा ।

दशौं कपिलवस्तु महोत्सवका अवसरमा कृषकले ल्याएको माटो परिक्षण गरेर विश्व माटो दिवस मनाइएको छ । माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाँकेले महोत्सव स्थलमै माटो परिक्षणबारे सचेतना गर्दै विश्व माटो दिवस मनाइएको हो ।

घुम्ति बाली उपचार शिविर मार्फत सरोकारवाला तथा कृषकलाई सचेतना गर्दै माटोलाई प्रदुषण हुनबाट बचाऔं भन्ने नाराका साथ महोत्सव स्थलमै पहिलो पटक विश्व माटो दिवस मनाउदै निशुल्क माटो परिक्षण गरिएको थियो ।

कृषि प्रधान देश नेपाल कृषिको आधार माटो भएकाले रासायनिक मलको चरम प्रयोगले माटोको उर्वराशक्ति नष्ट हुदै गएको सरोकारवालाले बताएका थिए । माटोलाई मलजल नभएसम्म उत्पादन नबढ्ने हुँदा कृषकलाई अत्यधिक रासायनिक मलको प्रयोग नगर्न र समय समयमा माटो परिक्षण गर्न अनुरोध गरिएको छ ।

विभिन्न क्षेत्रबाट माटोमा हुने प्रदुषणलाई रोकथाम गर्न कृषकहरुका लागि जनचेतना आवश्यक भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ का सचिव यमनारायण देवकोटाले जानकारी दिनुभयो ।

महोत्सवमा राखिएको माटो परिक्षण घुम्ती भ्यानले माटोको खाद्य तत्वको परिक्षण, माटोको अम्लीयपन, क्षारीयपन, नाइट्रोजन, फस्फोरस, पोटास र प्रागांरिक पदार्थको प्रयोगशाला विधीबाट परिक्षण गरिने माटो विज्ञ पर्शुराम शर्माले बताउनुभयो ।

पछिल्लो समय माटोमा प्रदुषण बढ्दै गएकाले जलसम्पदा र जैविक विविधता घट्दै गएको र मानव अस्तित्वनै खतरामा पर्न सक्ने केन्द्रिय कृषि प्रयोगशाला काठमाण्डौका प्रमुख हरिहर अधिकारीले बताउनुभयो ।

कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष हुमनाथ पौडेलले महोत्सवमा कृषि प्रदर्शनीले किसानलाई धेरै टेवा पुगेको बताउदै माटो तथा बाली परिक्षण गरेर कृषकलाई लाभ लिन आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७५ बिहिबार ००:००  २ : १८ बजे