४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

हुवाईका संस्थापकी छोरी क्यानडामा पक्राउ 



एजेन्सी-अमेरिकाका कानुनी अधिकारीको आग्रहमा क्यानडेली अधिकारीले हुवाईकी प्रमुख फाइनान्सियल अफिसर मेङ्ग वान्खाउ पक्राउ परेकी छिन् । चिनियाँ टेलिकम तथा मोबाइल जाइन्ट हुवाईका संस्थापकी छोरी क्यानडामा पक्राउपरेकी हुन् । मेङ्ग कम्पनीका संस्थापक रेन जेन्फेईकी छोरी हुन् । मेङ्गलाई विमान परिवर्तन गर्न लागेका बेला क्यानडेली अधिकारीले पक्राउ गरेका हुन् । शुक्रबार धरौटी सम्बन्धी सुनुवाई हुने क्यानडाको न्याय मन्त्रालयले जनाएको छ ।

न्याय मन्त्रालयका प्रवक्ताले आरोपका बारेमा केही बताएका छैनन् । मेङ्गले जानकारी प्रकाशन तथा प्रशारणमा प्रतिबन्ध लगाउन माग गरेको र अदालतले स्वीकार गरेको प्रवक्ताले बताएका छन् ।

उनलाई डिसेम्बर १ मा भ्यानकुभरबाट पक्राउ गरिएको क्यानडाको न्याय मन्त्रालयले जनाएको छ । हुवाईले मेङ्गमाथि लगाइएको आरोपका बारेमा थोरै मात्र थाहा भएको तर उनले कुनै कसुर गरेको जानकारी भने नरहेको बताएको छ ।

अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध हुवाईले उल्लंघन गरेको आशंकामा अमेरिकाले छानबिन गरिरहेको छ । यहि कारण मेङ्ग पक्राउ परेको हुन सक्ने अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७५ बिहिबार ००:००  १ : ५७ बजे