४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

बैंकलाई ढुक्क भएर लगानी गर्न प्रदेश सांसद पन्थीको आग्रह



मायादेवी अनलाइन, वाणगंगा ।
राष्ट्र बैंकबाट ‘ख’ वर्गमा सूचिकृत कैलाश विकास वैंकले कपिलवस्तुको ४ नम्बरमा पनि शाखा विस्तार गरेको छ । बैंकको ७६ औँ शाखाको रुपमा कपिलवस्तुमा स्थापना भएको हो । बैंकको शाखा प्रदेश पाँचका सांसद विष्णु पन्थीले रिवन काटेर उद्घाटन गर्नुभयो ।
कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि पन्थीले विकासको द्रुत गतिमा रहेको बाणगंगा नगरमा बैँंक स्थापना हुनु सुखद भएको भन्दै ढुक्क भएर लगानी गर्न बैंकलाई आग्रह गर्नुभयो । मुलकको विकासको लागि वित्तिय क्षेत्रको विकास हुन जरुरी भएको भन्दै सांसद पन्थीले बैंकहरुमा आधुनिक प्रणाली भने अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । अबको ५ बर्षमा कपिलवस्तु प्रदेश ५ कै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास हुन लागेकाले जतिसक्दो लगानी गर्न बैंक संचालकलाई सुझाउनुभयो ।
बणगंगा नगरका उपप्रमुख चक्रपाणी अर्यालले निक्षेप र कर्जाको सन्तुलन मिलाएर बैंकले जिल्लामा कारोबार गर्न सके भविष्य राम्रो रहेको बताउनुभयो । १० बर्ष पहिले एउटा बैंकबाट जितपुरमा कारोबार सुरु भएकोमा अहिले प्रशस्त बैंक तथा वित्तीय संस्थाको स्थापना हुनुले यहाँ प्रशस्त सम्भावना रहेको उपप्रमुख अर्यालले बताउनुभयो ।
कपिलवस्तु उद्योग बाणिज्य संघका सल्लाहाकार टोप नारायण वेल्वासेले बैङक स्थपना हुनु ठुलो कुरा नभएर उसले कत्तिको विश्वसनीय सेवा प्रदान गर्छ त्यो ठुलो कुरा भएको बताउनु भयो । बेलवासेले निक्षेप संकलन र कर्जा प्रवाहमा सन्तुलन ल्याउन सके जिल्लामा राम्रो भविष्य रहेको औँल्याउनुभयो ।
उद्घाटन समारोहमा बैंकका पश्चिम क्षेत्रिय प्रवन्धक कृष्ण प्रसाद अर्यालले बैंक र यसले प्रदान गर्ने सेवाको बारेमा जानकारी दिनुभएको थियो । अर्यालका अनुसार बैंकले २५ अर्व निक्षेप संकलन गरेको र २३ अर्व कर्जा लगानी गरेको छ । कपिलवस्तुका जनताको माग बमोजिम नै बैंकले यहाँ शाखा स्थापना गरेको हुनाले सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति : १९ मंसिर २०७५ बुधबार ००:००  १ : ४९ बजे