४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

वाणगंगा नगरपालिका पूर्ण भर्ना घोषणा



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका आधारभूत तहको पूर्ण भर्ना घोषणा भएको छ । नगरपालिकाले बुधबार आयोजना गरेको एक समारोहका बीच नगर प्रमुख मंगल प्रसाद थारुले नगरपालिकालाई पूर्ण भर्ना घोषणा गर्नुभयो । यसभन्दा अगाडी नै पूर्ण साक्षर नगर घोषणा भैसकेको वाणगंगा अहिले आएर पूर्ण भर्ना घोषणा भएको हो ।
आधारभूत तहको पूर्ण भर्ना घोषणा गर्नका लागि आवश्यक पर्ने सबै सुचक पूरा गरेर नगरलाई पूर्ण भर्ना घोषणा गरिएको नगर प्रमुख थारुले दाबी गर्नुभयो । उहाले प्रस्तुत गरेको प्रतिवेदनका अनुसार नगरमा शिक्षक विद्यार्थी अनुपात आधारभूत तहमा १ः ३० रहेको छ । जसमा आधारभूत तहको विद्यालय भर्ना शत प्रतिशत रहेको छ ।
पूर्ण भर्ना घोषणासभालाई सम्बोधन गर्न आएका प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले पूर्ण भर्ना घोषणा गरेकोमा वाणगंगा नगरपालिकालाई धन्यवाद दिनुभयो । पूर्ण भर्ना कागजमा मात्र घोषणा गरेर नहुने भन्दै यसलाई निरन्तर निगरानी गर्न उनले जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । २१ औं शताब्दीमा विश्व धेरै अगाडी बढे पनि नेपालमा पूर्ण भर्ना घोषणा गर्यौ भनेर खुसी मनाउनु विडम्वना भएको भन्दै मन्त्री बरालले गुनासो गर्नुभयो ।

प्रदेश सांसद विष्णु पन्थीले समृद्धिको आधार शिक्षा भएको भन्दै शिक्षामा लगानी लगाउन प्रदेश सरकार तयार रहेको बताउनुभयो । शिक्षाको विकास विना भौतिक विकासले त्यति अर्थ नराख्ने भन्दै यस विषयमा स्थानीय सरकार पनि गम्भिर बन्नुपर्नेमा जोड दिनुभयो ।
जिल्लाको शिक्षा, स्वास्थ्य र विकासमा सबैभन्दा अगाडी रहेको वाणगंगा नगरपालिकामा साक्षरता दर ८४.७ प्रतिशत रहेको छ । जसमा समग्र जिल्लाको साक्षरता दर ५७ प्रतिशत रहेको छ । नगरपालिकामा १ स्नातकोत्तर क्याम्पस, ३ स्नातक क्याम्पस, १ प्राविधिक शिक्षालय, ४८ विद्यालय सामुदायिक र २५ विद्यालय नीजि छन । कूल विद्यालयमा २७ हजार ३६ विद्यार्थीले अध्यापन गर्ने नगरका शिक्षा तथा सामाजिक विकास समितिका संयोजक भिष्मराज भुसालले बताउनुभयो ।
१० स्थानीय तह रहेको जिल्लामा यसभन्दा अगाडी बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका र सुद्धोधन गाउँपालिका मात्र पूर्ण भर्ना घोषणा भैसकेका छन ।

प्रकाशित मिति : १९ मंसिर २०७५ बुधबार ००:००  १ : ४६ बजे