४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मनाङ मस्र्याङ्दीको अपराजित यात्रा कायम, जावलाखेल १–० ले पराजित



काठमाडौं ।
राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबले आफ्नो अपराजित यात्रा कायम राखेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको पहिलो खेलमा जावलाखेल युथ क्लबलाई १–० गोलले हराउँदै मनाङ तालिकाको शीर्ष स्थानमा यथावत रहेको हो । लिगमा मनाङले खेलेको ६ वटै खेलमा जित हात पार्दै १८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।
मनाङको जितमा अञ्जन विष्टले निर्णायक गोल गरेका थिए । खेलको पहिलो हाफमा मनाङले गोलको थुप्रै अवसर बनाएपनि गोल गर्न सकेन । खेलको ६२ औं मिनेटमा अञ्जनले पेनाल्टीमा गोल गर्दै मनाङलाई अग्रता दिलाए ।
विदेशी खेलाडी अफिज ओलावललाई पेनाल्टी एरियामा लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । १ गोलले पछि परेको जावलाखेलले त्यसपछि खेलमा फर्कन प्रयास गरेपनि सफल भएन । खेलमा थप गरिएको ६ मिनेटमा जावलाखेलले केही राम्रा अवसर बनाएपनि कुनै गोल भएन र खेल मनाङले जित्यो ।
लिगमा आज नै हुने दोस्रो खेलमा हिमालयन शेर्पा र च्यासल युथ क्लब तथा थ्रीस्टार र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १९ मंसिर २०७५ बुधबार ००:००  ८ : ०८ बजे