९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

प्रचण्डले राजधानीको विषयमा बोल्दा किन विष्णु पौडेल ‘चु’ बोलेनन ?



मायादेवी अनलाइन, कपिलवस्तु ।

५ नं. प्रदेशको राजधानी र नामाकरण छिट्टै टुङ्गाउन कपिलवस्तुका नेताहरुले माग गरेका छन । मंगलबार देखि शुरु भएको दशौं कपिलवस्तु महोत्सवको उद्घाटका लागि आउनुभएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव विष्णु पौडेल बीच नेताहरुले यस्तो माग गरेका हुन ।

महोत्सवमा आफ्नो भनाई राख्दै नेकपा कपिलवस्तुका प्रस्तावित जिल्ला अध्यक्ष झविलाल पोख्रेलले प्रदेश ५ को राजधानी र नामकरण कहिले सम्म हुन्छ भनेर प्रश्न गर्नुभयो । प्रदेशको स्थायी राजधानी र नामाकरण गर्न ढिलाई भएको भन्दै अध्यक्ष पोख्रेलले यो विषयमा अब विलम्व गर्न नहुने बताउनुभयो । पोख्रेलले अध्यक्ष प्रचण्ड र महासचिव पौडेल समक्ष कपिलवस्तुमा राजधानी राख्न पनि माग गर्नुभएको छ । सबैको पायक पर्ने स्थान कपिलवस्तु भएकोले यसमा केन्द्रका नेताको ध्यान जानुपर्नेमा उहाले जोड दिनुभयो ।

यता प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अतहर कमालले पनि कपिलवस्तुमा प्रदेश राजधानी राख्दा उत्तम हुने बताउनुभयो । कपिलवस्तु बुद्धको जन्मस्थल भएको भन्दै यहाँ स्थायी राजधानी राख्दा राम्रो हुने बताउनुभयो ।

पोख्रेल र कमालको भनाई सुनेर बस्नुभएका पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले प्रदेश नम्बर ५ को नाम लुम्बिनी र राजधानी तिलौराकोट राख्दा आपत्ति जनाइरहन नपर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले हाम्रो इतिहास जोडिएकोले प्रदेशको नाम लुम्बिनी राख्दा फरक नपर्ने विचार राख्नुभएको हो उहाले रुपन्देही, कपिलवस्तु र नवलपरासी एउटै सहर हुने भएपछि राजधानी पनि तिलौराकोट राखिएमा आपत्ति गर्नुपर्ने कुरा नरहेको बताउनुभयो । तर, प्रदेश नाम लुम्बिनी र राजधानी तिलौराकोट राखिहाल्नुपर्छ भन्ने आफूले वाचा गर्न नसक्ने दाहालको भनाइ थियो ।

’साँच्चै लुम्बिनी नाम राख्दा के चाहिँ फरक पर्छ त ?, हामीले गण्डकी, कर्णाली राख्यौं भने लुम्बिनी हाम्रो इतिहाससँग जोडिएको छ’ दाहालले तर्क गर्दै भन्नुभयो, ’यसमा आदिवासी जनजाति पनि जोडिएको भन्ने छ ।

सबैलाई समेट्ने नाम छ भने लुम्बिनी नाममा हामीले आपत्ति गर्नुपर्ने केही पनि छैन ।’ उहाले कपिलवस्तु लगायतका जनताको भावनालाई आफूले सम्मान गर्ने भन्दै प्रदेश ५ को नाम र राजधानीका विषयमा पार्टी नेतृत्व र सरकारसँग छलफल गर्ने आश्वासन दिनुभयो ।

उता प्रदेशको राजधानी रुपन्देही नभए आधिवेहरी आउने चेतावनी दिदै आउनुभएका नेकपा महासचिव विष्णु पौडेलले यो विषयमा चु बोल्नुभएन । बरु कपिलवस्तु, रुपन्देही र नवलपरासी एउटै जिल्ला भएको भन्दै यसको विकासमा समान धारणा बनाउन जरुरी रहेको बताउनुभयो । राजनीतिक कारणले कपिलवस्तु, रुपन्देही र नवलपरासीको सिमा छुटिट्एको भन्दै रुपन्देहीका सांसद समेत रहनुभएका पौडेलले तीन जिल्ला एउटै भएको धारणा राख्नुभयो ।

प्रकाशित मिति : १८ मंसिर २०७५ मंगलबार ००:००  १ : ३४ बजे