३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

प्रदेश सरकार योजना निर्माण गर्दै, कृषि, पर्यटन र वन ‘अर्थतन्त्रको मुल आधार’


१६ मंसिर २०७५ आइतबार ००:००  

0
Shares

मायादेवी अनलाइन, तौलिहवा ।
प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले अर्थतन्त्रको मुल आधार कृषि, पर्यटन र वन भएको बताउनु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार कपिलबस्तुको तौलिहवामा जिल्लाका सरोकारवालाहरूबीच गरेको सुझाव संकलन गोष्ठीमा बोल्दै प्रदेश नम्बर ५ को समृद्धिका आधार मुख्यगरी कृषि, पर्यटन, वन र उद्योग भएको उल्लेख गर्नुभयो । मन्त्री गिरीले आवधिक योजना तर्जुमाले यस क्षेत्रको विकासको खाका तयार गर्ने समेत बताउनुभयो । पहिलो चरणमा पूर्वतयारीको रूपमा छलफल गरिए पनि अझै बिस्तृत रूपमा विभिन्न तह र तप्कामा प्रदेशको योजना कस्तो बनाउने भन्ने छलफल गरिने उहाँको भनाइ थियो । आवधिक योजनाको प्रारम्भिक मस्यौदाबारे जानकारी दिँदै प्रदेश योजना आयोगका सदस्य बिष्णुप्रसाद गौतमले प्रदेश सरकारले हालको २९.९ प्रतिशत बहुआयामिक गरिबीको दरलाई पनि १५ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।
प्रदेशका नागरिकको प्रतिव्यक्ति आय पाँच बर्ष्भित्र दुई हजार अमेरिकी डलर र्पुयाउने योजना अघि सारिएको छ । हाल प्रतिव्यक्ति आय एक हजार १२ अमेरिकी डलर छ । प्रतिव्यक्ति आयको हिसाबले प्रदेश ५ चौथो स्थानमा पर्ने समेत बताइएको छ ।
सरकारले पाँच बर्षभित्र प्रदेशका सबै घरपरिवारमा शतप्रतिशत खानेपानीको पहुँच र विद्युत सेवा पु¥याउने बताएको छ । अहिले खानेपानीको पहुँचमा ८६.२ प्रतिशत घरपरिवार छन् भने विद्युत सेवामा नागरिकको पहुँच ६६ प्रतिशतमात्रै छ । यद्यपि, आर्सेनिक लगायत कारण शुद्ध खानेपानीको पहुँचमा भने निकै कम नागरिक रहेको सरोकारवाहरूले बताएका छन् ।
प्रदेश सरकारले समष्टिगत आर्थिक नीति, आर्थिक, सामाजिक, पूर्वाधार, सुशासन र अनुगमन तथा अन्तरसम्बन्धित क्षेत्रलाई समेटेर तयार पारेको प्रादेशिक आवधिक योजनाको मस्यौदामा सुझाव लिन शुरु गरेको छ । प्रदेशका १२ वटै जिल्लाका सरोकारवालासंग आएको सुझावका आधारमा आवधिक योजनालाई अन्तिम रुप दिइने योजना आयोगका सदस्य गौतमले बताउनुभयो । प्रादेशिक आवधिक योजनाको प्रारम्भिक मस्यौदामाथिको छलफलमा सहभागी कपिलबस्तुका सरोकारवालाहरुले जनताको आवश्यकता परिपूर्ति गर्ने र प्रत्यक्ष रुपमा जनताको जीवनस्तरमा सुधार लयाउने योजनालाई प्राथमिकता दिनुपर्ने सुझाएका छन् ।
प्रदेश ५ का प्रदेशसभा सदस्य तथा सामाजिक विकास संयोजक दीर्घनारायण पाण्डे, धर्मबहादुरलाल श्रीवास्तव, सहसराम यादव, अर्जुन केसी, सुष्मा यादव, फौजिया नसिम, रिना नेपाल बिक लगायतले कृषि, पर्यटन र उद्योगको क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने बताएका थिए । उनीहरुले हुलाकी मार्ग र सिंचाई सुविधाको क्षेत्रलाई मुख्य रुपमा ध्यानाकर्षण गराउँदै योजना निर्माण हुनुपर्ने सुझाएका थिए ।
यस्तै पालिकाका जनप्रतिनिधिहरुले सुगम क्षेत्रका नागरिकभन्दा ग्रामीण र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवनस्तरमा सुधार र समानता ल्याउने योजना समावेश गर्नुपर्ने बताएका थिए । बुद्धिजीवी गोपाल बहादुर सिंह, बालाराम ज्ञवाली लगायतले महत्वकांक्षी योजना ल्याउँदा कार्यान्वयनमा चुनौती हुने भएकाले नागरिकको मन जित्ने र कार्यान्वयनमा पनि सहज हुने योजना आवश्यक हुनेमा जोड दिए ।
प्रदेश सरकारले यही मंसिर २१ गतेसम्म प्रदेशका सबै जिल्लामा पुगेर प्रादेशिक आवधिक योजनाको मस्यौदामाथि छलफल र सुझाव संकलन गर्ने छ । प्रदेश ५ सरकारले ‘समृद्ध प्रदेश खुसी जनता’ बनाउने दीर्घकालिन सोच बनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७५ आइतबार ००:००  १ : ४१ बजे