७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

विद्युत चोरी गर्नेलाई छुटाउन सिफारिस नगर्न जनप्रतिनिधीलाई आग्रह



मायादेवी अनलाइन, कपिलबस्तु ।
जिल्लामा विद्युत चुहावटको प्रतिशत बढी भएपछि यसको नियन्त्रण र रोकथाममा कार्यालयले विशेष अभियान संचालन गरेको छ । नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रले स्थानीय तहमा विद्युत चुहावट नियन्त्रणको अभियान शुरु गरेको हो । तौलिहवामा आयोजित कार्यक्रममा कपिलवस्तु नगरपालिकामा धेरै मात्रामा विद्युत चुहावट भएकाले चुहावट नियन्त्रण गर्न जनप्रतिनिधिहरुसंग छलफल गरिएको छ ।
तौलिहवाका प्रमुख इन्जिनियर जयकुमार यादवले विद्युत चोरी गर्ने वा चुहावट गरेका व्यक्तिलाई छुटाउन सिफारीस नगर्न जनप्रतिनिधी तथा सरोकारवालालाई सुझाव दिनुभएको छ । उहाँले हुकिग गरी विद्युत चोरी गर्ने, मिटरबाट बाइपास गरी विद्युत उपयोग गर्ने र बक्यौता नतिर्नेलाई आफुले नियम अनुसार कार्वाही गर्ने जानकारी दिनुभयो । मिटर जडान, तार तान्ने, विद्युत टन्सफारमर, समयमा मिटर रिडिङ्ग नहुने जस्ता समस्याहरु निराकण गर्न सकिने उपायका बारेमा छलफल गरिएको थियो ।
कार्यालयका प्रमुख यादवले सेवालाई स्तरीय र प्रभावकारी बनाउन आफु कटिबद्ध भएर लागेकाले जनप्रतिनिधीलाई उक्त कार्यमा सघाउन आग्रह गर्नुभएको छ । उहाँले घरको लागि मिटर जडान गर्न प्रकृया पुरा गरेर आउने ग्राहकलाई तुरन्त मिटर वितरण गर्न सकिने जानकारी दिनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले प्राधिकरणले चुस्त रुपमा सेवा प्रवाह गर्नुपर्ने बताउदै कानुन विपरित कार्य गर्नेलाई जनप्रतिनिधीले सिफारिस गर्न नमिल्ने बताउनुभयो । आर्यालले विद्युत चुहावट नियन्त्रण गर्न प्राधिकरण सक्रिय हुनुपर्ने, मिटर जडान प्रकृया पुगेकोलाई छिटो भन्दा छिटो वितरण गरिनुपर्ने, प्राधिकरणमा रहेको ढिलासुस्ती अन्त्य गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रममा कपिलबस्तु नगरपालिकाका प्रमुख किरण सिंहले अबको दिनमा विद्युत कार्यालय संग समन्वय गरि सबैको घरमा मिटर जडान गर्न आवश्यक भएको बताउनुभयो । सिंहले प्राधिकरणको सानो कमजोरीले ठूलो दुर्घटनाहरु हुनसक्ने भएकाले त्यसमा प्राधिकरणको ध्यानाकर्षण गराउनुभयो । नगरभित्र विद्युत चुहावट नियन्त्रण गर्न विभिन्न किसिमको कार्यक्रम गर्ने नगर प्रमुख सिंहले बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव हरि अधिकारीले जनप्रतिनिधीलाई नगर भित्रको विद्युत चुहावट र राजश्व छलीमा सकृय हुनुपर्ने सुझाव दिनुभएको थियो । कार्यक्रममा स्थानिय जनप्रतिनिधि, सरोकारवाला लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७५ शुक्रबार ००:००  १ : ४८ बजे