चितवन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाको माडीमा जङ्गली हात्तीको आक्रमणबाट दुई महिलाको मृत्युपछि माडीवासीले राखेको मागका विषयमा जानकारी लिनुभएको छ ।
सो क्षेत्रका सांसद समेत रहनुभएका दाहालले प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतमार्फत माडीवासीका मागका विषयमा जानकारी लिनुभएको हो ।
दुई दिनअघि जङ्गली हात्तीले दुई महिलालाई आक्रमण गरी मारेपछि बिहीबार बिहानैबाट माडीवासी आन्दोलित भएका थिए ।
सम्झौतापछि सोको जानकारी आफूले दाहाललाई गराएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो । सहमतिमा पीडित पक्षलाई तत्काल माडी नगरपालिकाबाट किरिया खर्चबापत रु २५ हजार उपलब्ध गराउने, क्षतिपूर्तिबापत राज्यले उपलब्ध गराउने रकम एक महीनाभित्र उपलब्ध गराउने, यस अघिका घटनाका क्षतिपूर्ति रकम पनि एक महीनाभित्र उपलब्ध गराउने, हात्तीलाई तत्काल बस्ती प्रवेश गर्न रोक लगाइ नियन्त्रणमा राख्ने सहमति भएको छ ।
यसैगरी प्राविधिक टोलीले उक्त हात्तीको पहिचान गरी आवश्यकता अनुसार उनीहरुको सुझावमा दाह्रा काट्ने लगायतका कार्य गर्ने सहमति भएको छ ।
हात्तीलाई मार्नुपर्ने अवस्था आएमा जनप्रतिनिधि र निकुञ्जको समेत सिफारिसमा सम्बन्धित निकायमा अनुरोध गर्ने, निकुञ्ज ऐनलाई समय सापेक्ष परिमार्जन गर्ने सहमति भएको थियो ।
मृतक सुशीला भण्डारीका दुई छोरालाई शिक्षाका लागि माडी नगरपालिकाले रु पाँच लाख व्यवस्था गर्ने, अर्की मृतक कृष्णकली जैसी पौडेलका छोरालाई माडी नगरपालिकामा रोजगारीको व्यवस्थापन गर्ने सहमति भएको छ ।
बुधबार दिउँसो रीउ खोल किनारमा घाँस काट्न गएका स्थानीयबासी ३५ वर्षीया सुशीला भण्डारी र ६० वर्षीया कृष्णकली जैसी पौडेलको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।
यसैबीच निकुञ्जले हात्ती नियन्त्रणका लागि प्राविधिक सहितको टोली परिचालन गरेको छ । आठजना प्राविधिकसहित २० जना सुरक्षाकर्मी परिचालन भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताउनुभयो ।
हात्तीलाई डार्ट गरेर बेहोस् बनाउने, दाह्रा काट्ने र सेटेलाइट रेडियोकलर जडान गरी छाड्न निर्देशन दिइएको छ ।
१४ मंसिर २०७५ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया