एजेन्सी ।
चेल्सीले युरोपा लिग फुटबलमा पीएओके सालोनिकालाई सहजरुपमा पराजित गरेको छ । बिहीबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा चेल्सीले सालोनिकालाई ४–० गोलअन्तरले पराजित गरेको हो । चेल्सीको जितमा ओलिभर जिरुडले दुई गोल गरे । त्यस्तै, क्यालम हड्सन र अल्भारो मोराटाले पनि गोल गर्न सफल भए ।
खेलको सातौं मिनेटमा सालोनिका १० खेलाडीमा सीमित भएको थियो । यब्हेन खाचेरिडीले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सालोनिका दबावमा आएको थियो । खेलको २७ औं मिनेटमा जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । जिरुडले खेलको ३७ औं मिनेटमा अर्को गोल गर्दै चेल्सीलाई दोब्बर अग्रता दिलाए ।
पहिलो हाफमा दुई गोलको अग्रता लिएको चेल्सी दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । खेलको ६० औं मिनेटमा हड्सनले गोल गर्दै चेल्सीलाई ३–० को अग्रता दिलाएका थिए । खेलको ८०औं मिनेटमा मोराटाले गोल गरेपछि चेल्सीले ४–० गोलको फराकिलो जित निकालेको हो ।
समूह एलमा रहेको चेल्सी जितसँगै १५ अंक बनाएर शीर्ष स्थानमा रहेको छ । सालोनिकाको भने तीन अंक रहेको छ ।
१४ मंसिर २०७५ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया