७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

दाङमा बढे महिला हिंसाका घटना



घोराही ।

आर्थिक वर्ष २०७१÷७२ देखि २०७४÷७५ को मङ्सिर पहिलो सातासम्म एक हजार १०७ वटा महिला हिंसाका घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् ।

बलात्कार, बलात्कारका प्रयास, बहुविवाह, मानव बेचबिखन, घरेलु हिंसा, आत्महत्या, सामाजिक हिंसा, बोक्सीको आरोपलगायतका घटना रहेका छन् । तथ्याङ्कमा उल्लेख भएअनुसार २०७१÷७२ मा २५१ वटा, २०७२÷७३ मा २५१ वटा, २०७३÷७४ मा २७२ वटा, २०७४÷७५ मा ३२५ वटा महिला हिंसाका घटना भएका छन् ।

त्यसैगरी चालु आर्थिक वर्षको मङ्सिर पहिलो सातासम्म ६२ वटा महिला हिंसाका घटना प्रहरीसम्म आइपुगेको जिल्ला प्रहरी कार्यालयका मुद्धा फाँटका प्रमुख प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिनुभयो ।

तथ्याङ्कमा उल्लेख गरेअनुसार बलात्कारका १२९ वटा, बलात्कार प्रयासका ५३, बहुविवाहका १२, मानव बेचविखनका पाँच, घरेलु हिंसाका ५१९, आत्महत्याका ३३१, सामाजिक हिंसाका ६४, बोक्सी आरोपका आठ जना पीडित रहेका छन् ।

प्रहरी निरीक्षक गौतमका अनुसार महिला विशेष गरी घरभित्रै कुटपिट गर्ने, अपमान गर्ने, घर निकाला गर्ने, घरपरिवारका कुनै पनि व्यक्ति नबोलेर वा गालीगलौज गरेर मानसिक यातना दिने जस्ता घटना बढी आउने गरेको बताउनुहुन्छ ।

महिला पुनःस्थापना केन्द्र ओरेकले दाङमा बितेको १० महीनामा १३५ महिला हिंसाका निवेदन परेकोमा सबैभन्दा बढी घरेलु हिंसा, बलात्कार र बहुविवाहका घटना थिए । यसैगरी औपचारिक सेवा केन्द्र इन्सेकले दाङमा बितेको साढे १० महीनामा अभिलेख गरेको तथ्याङ्कमा १५१ वटा मानवअधिकार हननका घटना भएका थिए । (रासस)

प्रकाशित मिति : १३ मंसिर २०७५ बिहिबार ००:००  ३ : ३८ बजे