७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

दशौं कपिलवस्तु महोत्सवको तयारी तीव्र, हाल सम्म ७५ प्रतिशत काम सम्पन्न



दीपा महत, वाणगंगा ।

दशौं कपिलवस्तु महोत्सवको ७५ प्रतिशत काम सम्पन्न भैसकेको छ । यही मंसिर १८ गते देखि पुस १ गते सम्म बुद्धरंगशाला चारनम्बरमा महोत्सव सञ्चालन हुँदै छ । महोत्सवको अहिले स्टेज निर्माण, स्टल व्यवस्थापन, मूल गेट निर्माण, प्रचार प्रसारको काम भैरहेको छ । अबका दुई तीन दिनमा यी काम सम्पन्न गर्ने तयारीमा आयोजक जुटेको छ ।

“कृषि र पर्यटनमा आधारित उद्योग व्यापार ! समृद्ध र सुखि कपिलवस्तु निर्माणको आधार !! भन्ने मूलनाराका साथ सञ्चालन हुन लागेको महोत्सव विगतको भन्दा फरक हुने कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक उमानाथ पौडेलले बताउनुभयो । महोत्सवमा कृषिजन्य व्यवसाय तथा उत्पादनको प्रवर्धन, पर्यटन प्रवर्धन, संस्कृती प्रवर्धन, आठौ कपिलवस्तु डान्स आईडल, स्थानीय कला संस्कृतीको प्रवर्धन, ख्याति प्राप्त राष्ट्रिय कलाकारको दैनिक प्रस्तुती, विशेष बालउद्यान सहितको मनोरञ्जन पार्क रहने संयोजक पौडेलले बताउनुभयो ।

यस्तै महोत्सव सम्पन्न गर्नका लागि २० ओटा विषयगत समिति गठन गरेर काम गरिएको कपिलवस्तु उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक रुक बहादुर भुसालले बताउनुभयो । यस्तै महोत्सवमा मूल आयोजक समिति, सचिवालय, महोत्सवका संरक्षकहरु, सल्लाहकार समिति र अनुगमन तथा मूल्याङ्कन समिति गठन गरिएको निर्देशक भुसालले बताउनुभयो ।

यसपालिको महोत्सवमा ३ सय ३५ स्टल रहने संघका उपाध्यक्ष तथा महोत्सव स्थल तथा स्टल व्यवस्थापन समितिका संयोजक हुमनाथ पौडेलले बताउनुभयो । विगतको भन्दा यस बर्ष स्टल थपिएको पौडेलले बताउनुभयो । महोत्सवमा चार लाख दर्शकले अवलोकन गर्ने र १२ करोडको कारोबार गर्ने अपेक्षा लिइएको संघका उपाध्यक्ष छविलाल रेश्मी मगरले बताउनुभयो ।

 

प्रकाशित मिति : १२ मंसिर २०७५ बुधबार ००:००  ३ : ३८ बजे