८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

काङ्ग्रेस जिल्ला सभापतिको बैठक नुवाकोटमा बस्दै



काठमाडौँ ।
नेपाली काङ्ग्रेसको जिल्ला सभापतिहरुको बैठक नुवाकोटको ककनीमा हुने भएको छ । काङ्ग्रेसको मङ्सिर २८ देखि पुुस ३ गतेसम्म हुन लागेको महासमिति बैठकका लागि देशैभरका सभापतिको समान धारणा बनाउन आज र भोली ककनीमा बैठक हुन लागेको हो । काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले प्रस्तावित विधानका बारेमा छलफल गर्न नुवाकोट काङ्ग्रेसको आयोजनामा बैठक बस्न लागेको जानकारी दिनुभयो ।
“काङ्ग्रेसको विधान संशोधन समितिमा रहनुभएका काङ्ग्रेस रोल्पा सभापति अमरसिंह पुन र ललितपुर सभापति मदन अमात्यसँग विधान प्रस्तावनाका बारेमा छलफल गरेर देशैभरिका काङ्ग्रेस सभापतिहरुको समान धारणा बनाउँछौँ,” उहाँले भन्नुभयो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा समेत छलफल हुने उहाँको भनाइ थियो ।
नेपाली काङ्ग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले पार्टी्भित्र रहेको गुटउपगुट अन्त्य गर्नेबारे सभापतिको बैठकमा छलफल हुने बताउनुभयो । बैठकमा पार्टीले महासमिति बैठकमा दिने रायबारे छलफल हुने उहाँको भनाइ छ । यस्तै महासमितिको बैठकमा राख्ने कुराबारे समान धारणा बनाउन नेपाली काङ्ग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेला धादिङको गजुरीमा मङ्सिर १४ र १५ गते हुन लागेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७५ बुधबार ००:००  २ : १४ बजे