८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

नेविसंघ महाधिवेशनको कार्यतालिका सार्वजनिक



 

काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ नेविसंघको १२ औं महाधिवेशन पुस २८, २९ र ३० गते काठमाडौंमा हुने भएको छ ।

नेविसंघ केन्द्रीय कार्य समितिको मंगलबार काठमाडौंमा बसेको आकस्मिक बैठकले १२ औं महाधिवेशनको मितिसहितको कार्यतालिका तय गरेको हो । बैठकपछि पत्रकार सम्मेलन गरी नेविसंघका अध्यक्ष नैनसिंह महरले सरकारको जनविरोधि गतिविधिलाई रोक्न सशक्त बन्नुपर्ने भएकाले पुसको अन्तिम साता सम्पन्न हुने गरी महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको बताउनुभयो ।

नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकले दुई महिनाभित्र नेविसंघको महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । त्यसै समयसीमा भित्र पूरा हुने गरी नेविसंघले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो । मंसिर २२ गतेभित्र मावि, उच्च मावि र क्याम्पसहरुको अधिवेशन सम्पन्न गर्ने, मंसिर २५ गतेभित्र स्थानीय गाउँ नगर अधिवेशन गर्ने कार्यक्रम नेविसंघले तय गरेको छ ।

त्यसैगरी पुस ८ गतेभित्र काठमाडौं उपत्यका भित्रका विश्वविद्यालयहरुका अधिवेशनहरु सम्पन्न गरिसक्ने नेविसंघले जनाएको छ । अध्यक्ष महरले पुस २० गतेसम्म महाधिवेशनको प्रतिनिधि चयन हुने गरी कार्य तालिका तय गरिएको जानकारी दिनुभयो ।

तोकिएको समयभित्र अधिवेशन नगर्ने जिल्ला समिति तत्काल भंग गर्ने संघको निर्णयमा उल्लेख गरिएको छ । पार्टी संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचको गुटबन्दीका कारण नेविसंघको १२ औं महाधिवेशन पटक–पटक स्थगित हुँदै आएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७५ मंगलबार ००:००  १० : ५२ बजे