७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

दक्ष जनशक्ति र उपकरणको अभाव हुँदा बिरामीलाई कष्ट



दाङ ।
राप्ती अञ्चल अस्पताल तुलसीपुरमा आवश्यक पर्ने जनशक्ति तथा उपकरण नहुँदा सेवा प्रवाहमा कठिनाइ हुने गरेको छ ।

अहिले पनि अस्पतालमा आउने सेवाग्राहीले अस्पताल ‘रिफरल सेन्टर’का रुपमा रहेको गुनासो गरिरहेका छन् । सोमबार अस्पतालमा आफ्नो स्वास्थ्योपचार गराउन आउनुभएकी तुलसीपुर उपमहानगरपालिका–६ रजौराकी ४५ वर्षीया राधा पाण्डेयलाई चिकित्सकले इन्डोस्कोपी गराउनुपर्ने र सो सेवा उक्त अस्पतालमा हुन नसक्ने भएकाले घोराही जान सल्लाह दिनुभयो ।

त्यसो त राधा, हरिहर त उदाहरण मात्र हुनुहुन्छ । सो अस्पतालमा उपचार गराउन आउने धेरै नागरिकको एउटै गुनासो छ कि उपकरण र चिकित्सक हुनुप¥यो ताकि उपचारका लागि धेरै दुःख र खर्च हुने गरी अन्यत्र जान बाध्य हुन नपरोस् । कूल १६ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको सो अस्पतालमा अहिले छ चिकित्सकमात्र रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

अस्पतालका प्रशासन अधिकृत नीमबहादुर केसीले भौतिक पूर्वाधार, उपकरण तथा दक्ष जनशक्तिको अभावका कारण सघन उपचार कक्ष र अति सघन उपचार कक्ष सेवा सञ्चालन गर्न नसकिएको बताउनुभयो । उहाँका अनुसार अस्पतालमा हाल कुल ७४ कर्मचारीको दरबन्दी रहेता पनि ५६ मात्र कार्यरत छन् ।

सर्पदंशका बिरामी उपचार गर्न आउँदा समस्या हुने गरेको पनि अधिकृत केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने हुन्छ तर अस्पतालमा भेन्टिलेटर छैन, अन्यत्र सिफारिश गरेर पठायो केहीको ज्यान बाटोमा नै जानसक्ने हुन्छ ।”

त्यस्तै अस्पतालमा बेहोस गराउने चिकित्सक नहुँदा पनि समस्या हुने गरेको केसीले बताउनुभयो । गत वर्ष सघन उपचार कक्ष अति सघन उपचार कक्ष सञ्चालनका लागि केही सामग्री आएकोमा त्यो पनि पूरा छैन । दक्ष जनशक्ति नहुँदा उक्त सामग्री त्यतिकै थन्किएको अस्पतालले जनाएको छ ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट (मेसु) सर्वे शर्माले पर्याप्त जनशक्ति, उपकरण, बजेट अभाव तथा भौतिक पूर्वाधार नहुँदा सेवा प्रवाहमा कठिनाइ हुने गरेको बताउनुभयो ।

अस्पताल स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका समाजसेवी तथा तुलसीपुर उद्योग वाणिज्य सङ्घका निर्वतमान अध्यक्ष विमल रिजालले अस्पतालको सेवालाई प्रवाभकारी गराउन माग गर्नुभएको छ । नागरिकको अथक मेहनत र आर्थिक सहयोगबाट स्थापना गरिएको अस्पतालबाट प्रभावकारी स्वास्थ्य सेवा पाउन नसक्नु दुःखद् भएको भन्दै सेवालाई प्रभावकारी गराउन सरकारसँग माग गर्नुभयो ।

प्रदेश नम्बर ५ का दाङ, रुकुम, रोल्पा र कर्णाली प्रदेशका सल्यान जाजरकोटबाट समेत सेवाग्राही उपचारका लागि आउने गरेकामा उचित स्वास्थ्य उपचार पाउन नसक्दा छिमेकी जिल्ला बाँके, रुपन्देही, काठमाडौँ र भारतको लखनउ जानुपर्ने बाध्यता रहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७५ मंगलबार ००:००  १० : ३७ बजे