१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

बुटवलमा पशु बधशाला निर्माण अधुरै



 

बुटवल । पशु बधशाला निर्माणको काम बुटवलमा अझै पूरा भएको छैन ।
बुटवल– १० रामनगरमा २८ कट्ठा क्षेत्रफलमा सञ्चालन गर्ने तयारी भएको सो बधशालाका लागि बुटवल उप–महानगरपालिकाले प्रदेश सरकार समक्ष प्रस्तावना पेश गरेको उप–महानगरपालिकाका पशु चिकित्सक झविन्द्र वञ्जाडेले जानकारी दिनुभयो ।

बधशाला बनाउन यस आर्थिक वर्षमा उप–महानगरपालिकाले रु ८० लाख बजेट विनियोजन गरेको छ । “वधशाला निर्माण भएपछि उपभोक्ताले स्वस्थ्यकर मासु उपभोग गर्न पाउछन् र वातावरण स्वच्छ राख्न समेत मद्दत मिल्छ” पशु चिकित्सक वञ्जाडेले भन्नुभयो, “बधशालाको अभावमा बुटवलका मासु पसलमा खसी भनेर बाख्राको मासु बेच्ने, रोगी बाख्रा बेच्ने, झिङ्गा लागेको माछा उपभोग गर्नुपर्ने बाध्यता रहेको छ ।”

बधशाला सञ्चालन गर्न पटक–पटक बसेको बैठकले पशु बधशालाको लगानीको स्रोतको पहिचान गर्ने र पूर्वाधारको कामलाई अघि बढाउने कुरामा जोड दिएको थियो । उत्पादक, कृषि सहकारी र कृषकको सहकार्यमा सञ्चालन हुने भनिएको बधशालाको प्राविधिक क्षेत्रमा गैर सरकारी संस्था हेफर इन्टरनेशनलले सहयोग गर्ने बताइएको छ । बधशालालाई रुपन्देही, पाल्पा र कपिलवस्तुका महिला कृषि सहकारीले खसी, बोका आपूर्ति गर्ने बताइएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७५ मंगलबार ००:००  १० : २७ बजे