मायादेवी अनलाइन, वाणगंगा ।
महिला हिंसा विरुद्धको १६ दिने अभियान आज देखि कपिलवस्तु सहित देशभर शुरु भएको छ । हरेक बर्ष यही समयमा मनाईदै आइएको अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको अभियान अन्तर्रगत आज देखि विभिन्न कार्यक्रम पनि शुभारम्भ भएका छन ।
अभियानकै पहिलो दिन पारेर सिद्धार्थ क्याम्पस बुङ्ची कपिलवस्तुले जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । अन्तरक्रिया कार्यक्रममा महिला हिंसा न्यूनिकरणका लागि गर्नुपर्ने काम र हिंसाका स्वरुपका सम्बन्धमा छलफल गरिएको छ ।
कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरमा भए गरेका महिला हिंसाको बारेमा क्याम्पसका उपप्रध्यापक गोविन्द्र प्रसाद खनालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यस्तै नेपालमा भए गरेका महिला हिंसाको बारेमा सहायक प्रध्यापक अनिमा जिसीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत कार्यपत्र माथि सरोकारवालाले आ आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै प्रदेश सांसद विष्णु पन्थीले संविधानले ग्यारेन्टी गरेका अधिकारको अक्षरक्ष कार्यान्वयन हुन सके अधिकांश हिंसा अन्त्य हुने बताउनुभयो । त्यसको लागि सबैलाई कानुनी ज्ञान दिनुपर्ने बताउनुभयो । यस्तै हिंसा अन्त्यका लागि जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाले बताउनुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षता, उपाध्यक्ष रवी बहादुर काफ्लेको धन्यवाद मन्तव्यमा सम्पन्न भएको कार्यक्रममा वाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्याल, क्याम्पस सञ्चालक समिति सदस्य तथा महिला नेतृ विमला घिमिरे, क्याम्पस प्रमुख बालाराम ज्ञवाली, वडा नं. १ की वडा अध्यक्ष बालकुमारी पन्त, इलाका प्रहरी कार्यालयका रामचन्द्र विश्वकर्मा, श्रृगीघाट सामुदायिक बनकी अध्यक्ष रेनु सेन, मिर्मिरे बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष शान्ता पाण्डे लगायतले बोल्नुभएको थियो । सयौं सरोकारवाला, राजनीतिक दलका प्रतिनिधि, विद्यार्थी लगायतको उपस्थितीमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन क्याम्पसका उपप्रध्यापक दिलु श्रेष्ठले गर्नुभएको थियो ।
उता महिला हिंसा विरूद्ध १६ दिन अभियान अन्तरर्गत साझ चन्द्रौटा चोकमा दिप प्रज्वलन भएको छ । त्यहा स्थित हाम्रा सहकर्मीले जनाए अनुसार महिला हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्ने भन्दै दीप प्रज्वलन गरिएको हो । त्यस क्षेत्रमा क्रियाशिल दर्जन बढी संघ संस्थाको उपस्थितीमा उक्त कार्यक्रम भएको हो ।
प्रतिक्रिया