११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

प्रविधिमैत्री बन्दै बुद्धभूमि नगरपालिका, सरल र सहज सेवा पाइने अपेक्षा



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले प्रविधिको उच्च प्रयोग गर्न थालेको छ । पछिल्ला एक बर्ष देखि नगरपालिकाले नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै जनतालाई सरल र सहज रुपमा सेवा प्रदान गर्न थालेको छ । जस अन्तर्रगत नगरपालिकाको वडा नं. ४ बाट अनलाइन सेवा सुरु भैसकेको छ । वडाबाट हुने सबै राजश्व अनलाइनबाट संकलन भैरहेको वडा कार्यालयले जनाएको छ । यस्तै अबका केही दिनमा वडा नं. २ बाट पनि अनलाइन राजश्व संकलनको तयारी भैरहेको नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनुभयो ।
यस्तै नगरपालिकाको कार्यालय परिसर भित्र पनि सिसि क्यामेरा जडान प्रक्रियाको थालनी गरिएको छ । कार्यालय क्षेत्र भित्र सिसि क्यामेरा जडान संगै गोरुसिंगेको अर्घाखाँची चोक र डुमरा चोकमा पनि पक्रिया थालनी गरिने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । त्यसको लागि नगरपालिकाले यसै आर्थिक बर्षमा बजेट विनियोजन गरेको उहाले बताउनुभयो ।
यसैगरी यसै बर्ष देखि नगरपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयमा इ हाजिरी जडान गर्ने कार्य शुभारम्भ हुने छ । त्यसको लागि सबै वडा कार्यालयबाट काम शुरु गरिने नगरपालिकाले जनाएको छ । वडा कार्यालय पछि बजेटले पुगेसम्म शिक्षण संस्था र स्वास्थ्य संस्थामा काम थाल्ने नगरपालिकाको भनाई छ ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्याका अनुसार डिजिटल नागरिक वडापत्रको लागि पनि काम शुरु हुने प्रक्रियामा रहेको छ । लिखित नागरिक वडापत्र रहेको अवस्थामा साक्षर, निरिक्षर सबैलाई मध्यनजर गर्दै नगरपालिकाले डिजिटल नागरिक वडापत्र राख्ने तयारी थालेको उहाले बताउनुभयो ।
विश्व विज्ञान र प्रविधिमा धैरे अगाडी बढेको भन्दै नगरपालिका पनि प्रविधिमैत्री हुन थालेको नगरपालिकाका अधिकृत केशव भट्टराईले बताउनुभयो । प्रविधिको प्रयोग संगै सेवाग्राही र कर्मचारी बीच सरल र सहज ढङ्गले काम हुने उहाको अपेक्षा छ । आगामी दिनमा नगरपालिकाले सबै जानकारी सहितको एप्स प्रयोग गर्ने योजना बनाएको पनि उहाले बताउनुभयो ।

प्रकाशित मिति : ९ मंसिर २०७५ आइतबार ००:००  २ : ३२ बजे