१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

राजाबाबु हत्याका आरोपितको घरमा आगजनी, लवनीमा सुरक्षाकर्मी तैनाथ



कपिलवस्तु ।
गोली प्रहारबाट हत्या गरिएका स्थानीय नेता दिपेन्द्र चौधरीको हत्याको विरोधमा उनका आफन्तजन र समर्थकले आगजनी तथा विरोध प्रदर्शन गरेका छन ।
युवा नेता राजाबाबु भनिने चौधरीको शुक्रवार राति ९ बजे शुद्धोदन गाउँपालिका वडा नं।–४, मोतीभारीमा गोलीप्रहारबाट हत्या गरिएको थियो ।
हत्याको आरोप लागेका शुद्धोदन गाउँपालिका वडा नं।–४, मोतीभारीका अजित पाण्डेयको घरमा आगजनी गरिएको छ ।
हत्याको विरोध गर्दै मृतक राजाबाबु चौधरीका आफन्तजन, समर्थक र सर्वसाधारणले आरोपी पाण्डेयको घरमा रहेको १ थान ट्याक्टर, १ थान हार्भेस्टर कम्बाइन र ४ थान मोटरसाइकलमा आगजनी गरेका हुन् ।
आगजनीको प्रयासलाई नियन्त्रणमा लिन खोज्दा सर्वसाधारण र प्रहरीबिच झडपसमेत भएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताउनु भयो ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन बढी हवाई फायर र गोलीसमेत चलाएको छ ।
झडपका कारण सशस्त्र प्रहरी निरीक्षक गोविन्द श्रेष्ठको हातमा चोट लागेको छ भने थप २ जना प्रहरी घाइते भएका छन् ।
आक्रोशित भीडले हत्याको विरोधमा हत्याआरोपी पाण्डेयको सो गाउँपालिका लवनीचौकमा रहेको परमिला आयल सेन्टरमा पनि आगजनीको प्रयास गरिरहेका छन् । पेट्रोल पम्पको सुक्षाका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ठूलो संख्यामा उपस्थिति रहेको छ । हत्या आरोपी पाण्डेय पक्राउ नपर्दासम्म मृतक परिवारले शवको दाह संस्कार नगर्ने जनाएका छन् ।
स्थितिलाई नियन्त्रणमा लिन र वार्ताको प्रयास गर्न प्रहरी प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारी, नेपाल प्रहरीका उपरीक्षक अच्युतम पुडासैनी लगायतको टोली घटना स्थल लवनीमा तैनाथ छ ।

प्रकाशित मिति : ८ मंसिर २०७५ शनिबार ००:००  १२ : २८ बजे