८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सडकमै मञ्च बनाएर नेकपाको शक्ति प्रदर्शन, विप्लव नआउने



काठमाडौं ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा ले काठमाडौंको प्रदशर्नी मार्गमा जनसभाको आयोजना गरेको छ ।
नेकपाले पुतलीसडकबाट राष्ट्रिय सभागृहतर्फ जाने सडकमै मञ्च खडा गरेर सभा आयोजना गरेको छ । सभाका कारण त्यस क्षेत्रमा आवतजावत ठप्प बनेको छ । सभास्थलमा विभिन्न क्षेत्रबाट नारा जुलुस सहितको र्याली आउने क्रम जारी छ ।


पार्टी पुनर्गठनको पाँचौ वर्षगाँठको अवसर पारेर नेकपाले जनसभा गरेको हो । जनसभालाई पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने बताइएको भए पनि अन्तिम समयमा उहाँ सहभागी नहुने भएको छ । सुरक्षाका कारण सहभागी नहुने बुझिए पनि पार्टीले भने कुनै कारण खुलाएको छैन ।
तर पार्टीका महासचिव समेत रहनुभएका ‘विप्लव’ले लिखित शुभकामना सन्देश भने पठाउनुभएको छ । जनसभालाई पार्टी प्रवक्तासमेत रहेका स्थायी कमिटी सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लगायत नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रकाण्डले आमसभामा पार्टीको भावी नीति तथा कार्यक्रमसमेत प्रस्तुत गर्ने बताइएको छ ।


जनसभामा विभिन्न राजनीतिक दलका नेताहरुलाई निमन्त्रणा गरिएको छ । नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा माओवादी केन्द्रका गोपाल किराती र नेकपा अध्यक्ष ऋषि कट्टेललगायतका नेतालो सभालाई सम्बोधन गर्ने नेकपाले जनाएको छ ।
यसअघि नेकपाले रत्नपार्कमा रहेको शान्ति वाटिकामा सभा गर्ने जनाएको थियो । तर पछिल्लो समय ठाउँ साँघुरो भएको भन्दै प्रदर्शनी मार्गको सडकमै मञ्च बनाएर आमसभाको आयोजना गरेको छ । जनसभालाई लक्षित गरी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७५ शनिबार ००:००  ८ : ०४ बजे