८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

डडेल्धुरा बस दुर्घटनाः ज्यान गुमाउने १८ जनाकै सनाखत नामसहित



डडेल्धुरा ।
डडेल्धुरामा भएको स्कुल बस दुर्घटनामा मृत्यु भएका सबै १८ जनाको सनाखत भएको छ । डा केआई सिंह राजमार्ग अन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको थियो ।
ज्यान गुमाउनेहरुको नामावली
मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–४ बस्ने ३५ वर्षीया शशि विक, शिखर नगरपालिका वडा नं ११ बस्ने २५ वर्षीया गोपा भाट, सोही नगरपालिका ८ बस्ने ४० वर्षीय कैलाश रावल, सोही ठाउँका ४० वर्षीय योगेन्द्र रावल, डडेल्धुराको नवदुर्गा गाँउपालिका–३ का २२ वर्षीय चक्र धामी, सोही ठाउँका २० वर्षीय तिलक खाती, त्यहीँका १७ वर्षीय टेक धामी, नवदुर्गा गाउँपालिका–४ की १८ वर्षीय माया रावल, डोटी शिखर नगरपालिका–१० का १६ वर्षीय रोहित बलायर, सोही नगरपालिका ७ बस्ने २२ वर्षीय योगेन्द्र बोहरा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका इन्चार्ज गणेशसिंह नागरीले जानकारी दिनुभयो ।
डोटीको शिखर नगरपालिका–७ बस्ने २४ वर्षीय शंकर जोरा, सोही ठाउँ बस्ने शारदा राउत, कैलालीको हसुलिया ३ बस्ने २८ वर्षीय नारायण चौधरी, डोटीको शिखर नगरपालिका–१० का १५ वर्षीय सागर बलायर, शिखर नगरपालिका ११ बस्ने २४ वर्षीय पदम विक, कैलालीको गोदावरी नगरपालिका–१० का २३ वर्षीय पुरन कठायत, सोही ठाउँकी २० वर्षीया शारदा कडायत र सोही नगरपालिका–२ बस्ने २१ वर्षीय केशव कडायतले पनि ज्यान गुमाए ।
घाइतेहरुको नामावली
दुर्घटनामा परी २७ जना घाइते छन्। घाइते मध्ये १० जनाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ७ जना कोहलपुर पठाइएको छ । अन्य १० घाइतेको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
डोटीको शिखर नगरपालिकाअन्तर्गत बानिडुग्रिसइनस्थित पिसजोन एकेडेमीको पहेँलो रङको स्कुल बस बिहीबार बेलुकी दुर्घटनामा परेको हो। अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएका व्यक्ति सवार स्कुल बस दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : ७ मंसिर २०७५ शुक्रबार ००:००  ६ : ४१ बजे