८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

डोटी दुर्घटना अपडेटः मृतकको संख्या १८ पुग्यो, ११ जनाको अवस्था गम्भीर



डोटी – डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । ११ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक कर्णबहादुर रौलेले जानकारी दिनु भयो ।

दुर्घटनामा १३ जना पुरुष र ५ जना महिलाको ज्यान गएको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ । ट्राफिक प्रहरी पोष्ट स्याउलेका प्रमुख गणेश नागारीका अनुसार ज्यान गुमाउने मध्ये डोटीको दिपायल सिलगढी नगरपालिका ४ बस्ने शशी विकको मात्र पहिचान भएको छ । घाइते मध्ये गम्भीर अवस्थामा रहेका ११ जनालाई कैलालीमा रिफर गरिएको छ यस्तै अन्य १५ जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भैरहेको छ ।

सामान्य अवस्था भएका दुई जनालाई भने अस्पतालले डिस्चार्ज गरेको प्रहरीले जनाएको  छ । गम्भीर घाइतेको संख्या बढी भएकाले मृतकको संख्या बढ्नसक्ने प्रहरीले जनाएको छ । डडेल्धुराको उग्रतारा मन्दिरको मेला हेरेर डोटी फर्किने क्रममा बिहीबार बेलुकी पौने ६ बजेतिर बस दुर्घटनामा परेको हो । डोटीको शिखर नगरपालिका १२ मा रहेको पिसजोन एकेडेमीको से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको हो ।ओरालो सडक र बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुन सक्ने ट्राफिक प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : ७ मंसिर २०७५ शुक्रबार ००:००  १ : ५७ बजे