८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तु महोत्सवमय, पाँचौ चन्द्रौटा महोत्सव सुरु हुँदै



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा एकै महिनामा २ वटा ठुला महोत्सव हुँदा पुरै कपिलवस्तु महोत्सव मय बनेको छ । जिल्लाको पश्चिम भेग चन्द्रौटामा विहीबारदेखि “पाँचौं चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव हुँदै छ भने मंसिर १८ गतेदेखि हुने दशौँ कपिलवस्तु महोत्सव हुँदै छ । यी दुई महोत्सव सम्पन्न गर्नको लागि यस क्षेत्रका उद्योगी, व्यावसायी, कृषक तथा सर्वसाधारण कस्सीएर लागेका छन् ।
विहीबारदेखि सुरु हुने चन्दौटा महोत्सवको यस बर्षको नारा “कृषि, प्रर्यटन, उद्योग–व्यापार र रोजगार आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार” भन्ने रहेको छ । महोत्सवको कृषि मन्त्री चक्रपाणी खनालले विहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
ब्यापार संघ कपिलवस्तको आयोजनामा हुन लागेको महोत्सवको उद्घाटन पूर्व बाजागाजा र सांस्कृतिक झाँकी सहित ्याली हुने महोत्सव मूल आयोजक समिति संयोजक महादेव पोख्रेलले जानकारी दिनु्भयो ।
मंसिर १६ गतेसम्म चन्द्रौटामा संचालन हुने उक्त महोत्सव अन्य वर्षको तुलनामा फरक हुने बताउँदै पोख्रेलले महोत्सवमा २ लाख दर्शकहरुले अवलोकन गर्ने र १० करोडको करोवार हुने जानकारी दिनुभयो ।
महोत्सवले विगतका वर्ष जस्तो समाजिक कृयाकलाप पनि सक्रिय भएर प्रति टिकट रु १ का दरले शिवराज नगरपालिका भित्रका स्वास्थ्य चौकी वर्थिङ सेन्टरलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । संयोजक पोख्रेलले महोत्सवमा जिल्लाका पर्यटकीय एवम् धार्मिक स्थलहरुको फोटो तथा भिडियो प्रदर्शनी, ऐतिहासिक शिवगढी मन्दिर तथा मूल गेटमा मायादेवीको मन्दिर निर्माण गरिएको वताउनुभयो ।
यसका साथै स्थानीय स्तरमा उत्पादित कृषि, उद्योग, हस्तकला, जडिबुटीहरुको प्रदर्शनीको स्टलहरु रहने छन् । महोत्सवको सांस्कृतिक आकर्षणको रुपमा चौथो चन्द्रौटा डान्स आइडल, थारु सांस्कृतिक नृत्य र राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ भने बाल उद्यान, मौत कुवा, रोटे पिङ, जादुगर, कुस्ती प्रतियोगिताको समेत व्यवस्था मिलाइएको जनाइएको छ । टिकटमा विद्यार्थी, अपाङगता भएका र वृद्धवृद्धालाई ५० प्रतिशत छुट दिइने बताइएको छ । महोत्सवमा सुरक्षा व्यवस्था पनि मजबुत बनाइएको हायोजले जनाएका छन् ।
यता १० औँ बुद्ध रंगशाला जितपुरमा हुने १० औँ कपिलवस्तु महोत्सवको तयारी पनि धमाधम भइरहेको छ । कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको औद्योगिक तथा कृषि प्रदर्शनीमा अहिले स्टल निर्माण लगायतका काम भैरहेका महोत्सव मूल आयोजक समितिका संयोजक तथा उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले बताउनु भयो ।
मेला सम्पन्न गर्नको लागि गठित बिभिन्न समिति उपसमितिले पनि धमाधम काम गरिरहेका छन् । महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको डान्स आइलको पनि तयारी तीव्र छ । आइडलको लागि अडिसन पनि सक्ने तयारीमा छ । प्रचार प्रसारको काम पनि तीव्र गतिमा भैरहको आयोजक कपिलवस्तु उद्योग बाणिज्य संघले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७५ बिहिबार ००:००  १२ : ५७ बजे