८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सार्वजनिक नदीमा १० हजार माछाका भुरा छाडेर माछा दिवस मनाइयो



बाबुराम रायमाझी, कपिलवस्तु ।

कपिलवस्तुको वाणगंगा नगरपालिका ३ झुँगामा २२ औं विश्व माछा दिवस फरक तरिकाले मनाइएको छ । स्वच्छ नदी, स्वस्थ्य माछा, स्वस्थ मानिस, स्वस्थ धन र समृद्धिको लागि माछा भन्ने सन्देशका साथ २२ औं विश्व माछा दिवस वाणगंगामा मनाइएको हो । वाणगंगा नगरपालिका ३ राजापानी स्थित रौतार मल्टी एग्रो फर्मले १० हजार रँहु र नैनी जातका माछाका भुरा सार्वजनिक कुलोमा छाडेर फरक तरिकाले माछा दिवस मनाएको छ ।

गरिबको पहुँचमा माछा पुगोस भन्ने उद्देश्यले झुँगाको सार्वजनिक नदीमा १० हजार माछाका भुरा छाडिएको फर्मका संचालक परशुराम रौतारले बताउनुभयो । उहाँले गरिबले माछा किनेर खान नसक्ने र उनीहरुलाई पौष्टिक तत्वको आवश्यकता पर्ने हुँदा सार्वजनिक नदीमा माछाका भुरा छाडेको रौतारले जानकारी दिनुभयो ।

वाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले माछा पानीको स्वच्छता र वातावरणका लागि पनि धेरै उपयोगी भएको बताउनुभयो । उहाँले मानव स्वास्थ्यका लागि पनि माछा फाइदाजनक हुने भएकाले माछा पालन प्रवर्धनमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । उपप्रमुख अर्यालले नगरपालिकामा पहिलो पटक माछा दिवस मनाइएकोले कृषकलाई थप आम्दानी गर्न माछा पालन व्यवसाय तथा आयआर्जनमा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा वाणगंगा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष सन्तराम रौतारले सार्वजनिक नदी संरक्षण गर्दै माछा पालनको संरक्षणमा ध्यान दिदै उक्त कार्यक्रमको प्रंशसा गर्नुभएको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा जोन कार्यालय गोरुसिंगेका प्रमुख घनश्याम चौधरीले माछाका लागि कपिलवस्तु उत्तम ठाँउ भएकाले माछा पालनमा कृषकहरुलाई अनुदान दिएको जानकारी दिनुभयो । यसैबीच राजापानी सामुदायिक बनको पोखरीमा माछाका भुरा छाडिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७५ बुधबार ००:००  १ : ४६ बजे