८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

पाल्पामा सुरु भयो चिच्चाएर वर मागिने मेला



पाल्पा ५ ।
पाल्पाको सत्यवती ताल परिसरमा आज देखि तीन दिने मेला सुरु भएको छ । सत्यवती बजै कान नसुन्ने छन् भन्ने मान्यता अनुसार चिच्चाएर वर माग्ने विधि सहितको सत्यवती मेला सुरु भएको हो । तीन दिनसम्म लाग्ने मेलामा हजारौँको सहभागिता रहने गर्छ । मेला भर्न मुलुक र छिमेकी भारतबाट समेत दर्शनार्थीको घुँइचो लाग्ने गर्छ । कात्तिके पूर्णिमाको तीन दिनअघि देखि नै पाल्पाको तिनाउ गाउँपालिका–४ को बीच घनाजंगलस्थित रहेको सत्यवती तालमा मेला लाग्ने पूरानो चलन हो । सिद्धार्थ राजमार्ग अन्तर्गत दोभानको झुम्सा पानीमिलबाट दुई घण्टा ठाडो उकालो हिँडेर सत्यवती तालमा लागेको मेला हेर्न जाने गर्छन् ।

चिच्चाएर वर माग्ने र मागेको वर पूरा भएको जनविश्वासका आधारमा मेला भर्न मुलुकका विभिन्न भागका साथै भारतबाटसमेत दर्शनार्थीहरु सहभागि हुने गर्दछन् । मनोकांँक्षा पुग्ने विश्वासले सत्यवती तालमा वर माग्ने र भाकल अनुसार पूजा दिने चलन छ । बांँस वा पातीको लिङ्गो लिएर जाने, त्यसलाई बोकेरै चिच्चाउँदै तालको वरीपरी तीन पटक घुमेर वर माग्ने गरिन्छ । आफुले लगेको लिंगोलाई गाडेर त्यसैको फेदमा पुजा गर्ने, वली चढाउने, परेवा उडाउने र पञ्चवलीसमेत लग्ने चलन छ । ताल छेउ र मन्दिरमा भाकल अनुसार बली दिने चलन छ । धार्मिक महत्व कै कारण पाल्पाका विभिन्न स्थान साथै छिमेकी जिल्ला रुपन्देही, स्याङ्गजा गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, दाङ्ग कास्की, काठमाण्डौ लगायत भारतका गोरखपुर, लखनउ, नौतनहवाबाट समेत यहा मेला भर्न र पुजाआजाको लागि आएका छन । यसको गुरुयोजना तयार गरेर व्यवस्थित गर्ने हो भने वर्षभरि नै धार्मिक तथा जैविक विविधता अध्ययन गर्ने पर्यटक भित्र्याउन सकिन्छ ।

प्रकाशित मिति : ५ मंसिर २०७५ बुधबार ००:००  ८ : ५१ बजे