८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

वाणगंगामा नदीजन्य पदार्थको चोरी निकासी बढ्यो



मायादेवी अनलाइन, वाणगंगा ।
समयमा ठेक्का नलाग्दा कपिलवस्तुमा नदीजन्य पदार्थको चोरी निकासी मौलाएको छ । खोलानालामा चोरी निकासी मौलाए पनि सम्बन्धित निकायले चासो देखाएका छैनन । पटक पटक खोलानालामा भैरहेको दोहन रोक्न स्थानीयबासीले स्थानीय तह र प्रहरीमा खबर गर्दा समेत सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयको आरोप छ । साउन देखि नै सांगठनिक रुपमा भइरहेको बालुवा चोरी रोक्न पटक पटक जिल्लाबासीले दबाब दिएपनि प्रहरी र स्थानीय तहहरुले भने वेवास्ता गर्दै आएका छन । मंगलबारको आर्थिक खबर साप्ताहिकमा खबर छ ।
जिल्लाको बाणगंगा नदी अन्तर्रगत सुठौली, मधुवन, कोइली बनगाई, उप्टहवा वरिपरीबाट बालुवा चोरी बढेको हो । स्थानीय केही व्यक्तिहरुले बालुवा प्लट दर्ता गराएर सो स्थानमा रातभर बालुवा चोरेर थुपार्ने र दिउँसोमा विक्री गर्ने गरेका छन् । प्लट व्यापारीले चोरीका बालुवाहरु कपिलवस्तुका बिभिन्न स्थान, रुपन्देही सम्म ट्रक, ट्रिप्पर, ट्याक्टर मार्फत बिक्री गर्दै आएका छन् ।
जेठ मसान्त पछि नदीजन्य पदार्थको निकासीको ठेक्का बन्द गरिए पछि जिल्लाका खोला नालाबाट बालुवा चोरी हुने क्रम रोकिएको छैन । नदीबाट बालुवा, मिस्कट, गिट्टी लगायतको नदीजन्य पदार्थको बैध निकासी रोकिए पछि बालुवा चोरिने क्रम ह्वात्तै बढेको हो । वाणगंगा नगरपालिकाले अवैध नदीजन्य पदार्थ चोरी निकासी नियन्त्रणका लागि प्रहरीलाई आग्रह गरेपनि प्रहरीले वेवास्ता गर्ने गरेको छ । उक्त कार्य स्थानीय तहको भएको र समयमै ठेक्का लगाउन प्रहरीले उल्टै सुझाव दिने गरेको नगरपालिकाका कर्मचारीहरुको आरोप छ ।
नदीजन्य पर्दाथको अवैध चोरीमा ट्याक्टरहरु नै सबै भन्दा बढि प्रयोग गरिएका छन् । स्वयमं ट्याक्टर धनी नै यसमा संलग्न देखिएका छन् । विशेष गरी बाणगंगा नदी, रामघाट, सगरहवा, भलवाडको धिरी खोला, सुरई र चिरईमा बालुवा चोरको विगविगी छ । अध्यारोमा खोलामा पसेर नदीन्जय पदार्थ चोर्ने, एक ठाउँ थुपार्ने गरिएका छन् । त्यस्तो अबैध माललाई प्लट ब्यापारीहरुले बिल काटेर खुलेयाम दोब्बेर मुल्यमा बालुवा बिक्रि गर्ने गरेका छन् ।
वाणगंगा नदीमा नदीजन्य पदार्थको चोरी निकासी बढेको गुनासो आए पछि नगरपालिकाले अनुगमन थालेको छ । नगरपालिकाले अनुगमनका क्रममा नदीजन्य पदार्थ चोरी गरी डम्पिङ गरी राखिएको अवैध सामग्रीलाई नियन्त्रणमा लिएकोछ । वाणगंगा नदी किनारामा थुपारिएका बालुवा नियन्त्रणमा लिएको नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले बताए । ‘नदीजन्य पदार्थको चोरी निकासी बन्द गर्ने अभियानमा छौ, उनले भने, “यसमा सबैको सहकार्य हुन जरुरी छ ।” प्रशासनको सहयोगले मात्र चोरी निकासी नियन्त्रण गर्न सकिने उनले बताए । साउन यता बालुवा चोर्ने दुई दर्जन ट्याक्टर नियन्त्रणमा लिइसकेको उनले बताए । यसले पनि पछिल्लो समय नदीजन्य पदार्थको चारी बढेको पृष्टि गरेको छ । बढ्दो नदीजन्य पदार्थ चोरी रोक्न स्थानीय तहले पटक पटक प्रशासनलाई जानकारी दिएको छ ।
यता जिल्ला प्रशासन कार्यालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई चोरी निकासी रोक्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलले बालुवा चोरी तस्करी नियन्त्रणमा प्रशासनको भरपुर सहयोग हुने बताए । “रातभरी नदीबाट बालुवा चोरेर प्लटमा जम्मा गरी बिक्री गर्ने गरिएको सुनिएको छ उनले भने, यसमा स्थानीय तह बढी चनाखो हुन आवश्यक छ ।” खोलानाकाको संरक्षण गर्ने अधिकार सम्बन्धित स्थानीय तहको हो उनले भने, यद्यपि प्रशासनको सहयोग मागे जतिबेला पनि दिन तयार छौँ । खोलानाकाको गस्तीका लागि आफ्नो तर्फबाट प्रहरी प्रशासन खटाएको उनको भनाईछ ।

प्रकाशित मिति : ५ मंसिर २०७५ बुधबार ००:००  २ : ५९ बजे