८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

अर्खबाङ्गमा ४६ जनाको आँखाको अप्रेशन, गाउँमै सेवा पाएकोमा नागरिक खुसी



शिवलाल सुवेदी, गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाको आयोजनामा ३ दिने निशुल्क आँखाको अप्रेशन शिविर सम्पन्न भएको छ । गाउँपालिका ४ अर्खबाङ्गमा सम्पन्न शिविरमा ४६ जना मोतियाविन्दुका विरामीहरुले विशेषज्ञहरुवाट आखाँको शल्यक्रिया गराएका छन ।
नेपाल नेत्र ज्योति संघ पाल्पा लायन्स लाकौल आँखा अस्पताल र नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र गुल्मीको प्राविधिक सहयोगमा विशेषज्ञहरुवाट निशुल्क मोतियाबिन्दुको अप्रेशन गरिएको हो । तिन दिनसम्म संचालन भएको सो शिविरमा २२ जना महिला र २४ पुरुषले आँखाको अप्रेशन गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुसालले बताए । शिविरको पहिलो दिन आँखाको परिक्षण समेत गरिएको थियो ।
गाउँपालिकाका अर्खवाङ्ग, छापहिले, ह्रवाङदी, नेटा, दलिङ्ग, घमिर, अर्जे, मरभुङ्ग लगायत छिमेकी जिल्ला वाग्लुङ्गका दुई सय २५ जनाको दृष्ट्रि परिक्षण गर्नुका साथै औषधी समेत वितरण गरिएको थियो । मोतियाबिन्दुको समस्या भएका बिरामीहरुको नेपाल नेत्र ज्योति संघ पाल्पा लायन्स लाकौल आँखा अस्पतालकी डाक्टर अन्जिता हिराचन सहित ११ जनाको टोलीले अप्रेशन गरेको आखाँ अस्पताल गुल्मीका प्रमुख सुर्य बस्नेतले बताए । शिविरमा १० बर्षदेखि ८२ बर्षिय बृद्धको मोतियाविन्दुको अप्रेशन भएको थियो ।
निःशुल्क आखाँको अप्रेसन सहितको तिन दिने आँखा शिविरवाट आँखाको सफल शल्यक्रिया गराई संसार देख्न सफल भएका आँखाका विरामीहरुले गाउँपालिकालाई धन्यवाद समेत दिएका छन । समुदायमा रहेका विपन्न , अशक्त वर्गका लागि गाउँपालिकाले आँखा शिविर गरी समुदायको हितमा ठुलो काम गरिदियो ८२ बर्षिय पदम अर्यालले भने‘ आफुहरुजस्तै धेरै व्यक्तिहरुको आँखाको अन्धकारको जालो फ्याँक्न सहयोग गरी संसार देखाउन ठुलो भुमिका निर्वाह गरेकोमा गाउँसरकारलाई धन्यवाद ।’ अर्याल जस्तै गाउँपालिका ४ कै ७९ बर्षिय खिमबहादुर घर्तीले आफ्नो आँखाको अन्धकार हटाई उज्यालो ज्योति दिई यति सुन्दर संसार देखाउन आँखा शिविरवाट सहयोग मिलेको प्रति खुशी जनाए । मर्ने वेलामा सुन्दर सन्सार देख्न पाईने भयो खुसी हुदै उनले भने‘ साच्चै सिहंदरवार गाउँ आएको अनुभव आज भयो ।’

यातयात खर्च समेत गाउँपालिकाकै

धेरैभन्दा धेरै नागरिकलाई शिविरमा ल्याएर आँखा परिक्षण तथा अप्रेशन गराउन मालिका गाउँपालिकाले बिरामीलाई यातायात खर्चको समेत व्यास्था गरेको थियो । केहि विपन्न परिवारलाई यातयात खर्चका कारण गाउँपालिकामा समेत आउन मुस्किल पर्ने भएकाले सवै अप्रेशन गर्ने बिरामीलाई यातयात खर्चको ब्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले बताए । उनका अनुसार यातायात खर्चले पनि धेरै विरामीहरु शिविरमा उपस्थित भएर सेवा प्राप्त गरेको बताए ।
गाउँपालिका २ की ८६ बर्षिय वाटुलादेवी वुढाले बुढेशकाल आँखाको ज्योति पाएकोमा खुसी लागेको बताईन । आँखा चेक गर्न हजारौ रुपैयाँ खर्च गरेर तम्घास जानुपथ्यो उनले भनिन‘ अहिले गाउँपालिकामै अस्पताल ल्याएर उपचार गर्न पाउदाँ खुसी छु, अझ गाडी भाडा समेत पाइयो ।’ उनले यातायात खर्च र टाढा जान नसकेकै भएर अहिलेसम्म अन्धकारमा बस्न परेको पिडा सुनाईन ।
मालिका गाउँपालिकाका प्रमुख रित बहादुर थापाले आफुहरु नागरिकको स्वास्थ्य अवस्था र जनजिविकासंग अत्यन्तै चिन्तित भएकाले स्वास्थ्य क्षेत्रमा केहि महत्वपूर्ण कामहरु भएको बताए । अहिलेसम्म चार वटा निशुल्क आँखा उपचार शिविर भएका छन् ।
गाउँपालिकाको कार्यालय रहेको वडा नं ४ को अर्खबाङ्गमा दुई पटक र वडा नं २ को दर्लिङ्ग र वडा नं ७ को घमिरमा निशुल्क आँखा उपचार शिविर संचालन गरिएको थापाले जानकारी दिए । वडा नं ४ को अर्खबाङ्गमै महिला रोग सम्बन्धि शिविर, र वडा नं ८ को मरभुङ्ग सिमलटारीमा बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको समेत गाउँपालिका प्रमुख थापाले भनाई छ ।

प्रकाशित मिति : ४ मंसिर २०७५ मंगलबार ००:००  ३ : ५७ बजे