९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आज देखि बुटवल हर्न निशेधित क्षेत्र घोषणा, अटेर गरे के होला ?



रुपन्देही ।
आजदेखि बुटवल बजारलाइ हर्न निषेधित क्षेत्र घोषणा गरिदै छ । बुटवलको तल्लो सिद्धबाबादेखि योगीकुटी, बेलबासदेखि धागो कारखानासम्मको क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिने प्रहरीले जनाएको छ । प्रदेश ५ को केन्द्र तोकिएसँगै बुटवलमा सवारीको चाप बढेका कारण ध्वनि प्रदूषण बढेपछि यो अभियान थालिएको प्रहरीले जनाएको छ ।

पहिलो चरणमा नमूनाका रुपमा बुटवल उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो । यसका लागि बुटवल उपमहानगरपालिका र प्रहरीले बुटवलमा सरोकारवालासँग छलफल गरेका थिए ।

छलफलमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले शहरको सुन्दरीकरणका साथै ध्वनि, धुलो र वायु प्रदूषणलाई समेत क्रमशः न्यूनीकरण गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । बुटवलपछि प्रदेशका अन्य उपमहानगरपालिकालाई पनि हर्न निषेधित क्षेत्र तोकिने प्रदेश ५ का प्रहरी उपरीक्षक गणेश चन्दले बताउनुभयो ।

प्रदेश नं ५ लाई ध्वनि प्रदूषणमुक्त बनाउन ट्र«ाफिक प्रहरीले स्थानीय निकायसँग मिलेर अभियान शुरु गरेको हो । सवारीको चापका कारण प्रदेशका मुख्य शहरमा ध्वनि प्रदूषण बढेको गुनासो आएपछि प्रहरीले अभियानको थालनी गरेको छ ।

प्रहरीले पहिलो चरणमा प्रदेश ५ को केन्द्र रहेको बुटवलबाट सवारी साधनमा हर्न बजाउन नपाउने अभियानको थालनी गरेको प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पीताम्बर अधिकारीले जानकारी दिनुभयो ।

बुटवलपछि नेपालगञ्ज र घोराहीलाइ पनि हर्न निषेधित क्षेत्र घोषणा गरिदै छ । दाङको तुल्सीपुरलाई यसअघि हर्न निषेधित क्षेत्र घोषणा गरिए पनि व्यावहारिक कार्यान्वयन भएको थिएन । मङ्सिरको पहिलो हप्ताभरि प्रचारप्रसार तथा जनचेतनामूलक अभियान चलाउने र दोस्रो हप्तापछि नियम पालना नगर्नेलाइ कारवाही गरिनेछ ।

प्रकाशित मिति : १ मंसिर २०७५ शनिबार ००:००  १२ : २९ बजे