९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कांग्रेसः संस्थापन इतर समूहका युवाको बैठक बस्दै



काठमाडौं ।
नेपाली कांग्रेसका युवा नेताहरुको सक्रियता पुनः बढेको छ। बुधबार भेला भएका युवा नेताहरुको बैठक शुक्रबार पनि बस्न लागेको छ । बैठक सिद्धार्थ कटेज तीनकुनेमा बस्ने भएको छ ।
युवा नेताहरुको बैठकको लागि पहल युवा नेता गगन थापाले गरेका छन भने बैठकको नेतृत्व नेता चन्द्र भण्डारीले गरेका छन ।

युवा नेताहरुमा उमेरको साथै निर्वाचनपछिका भेलाको संयोजन भण्डारीले गरेको हुनाले बैठकको नेतृत्व उनले गर्दै आएका छन्। बैठकमा मुख्यतयाः पौडेल पक्षका युवा नेताहरुको बाहुल्यताा छ ।
शुक्रबारको बैठकका लागि प्रदीप पौडेल, रामकृष्ण यादव, कमला पन्त लगायतका नेताहरुलाई पनि बोलाइएको छ। बुधबार आधा दर्जन युवाहरुको बैठक बसेको थियो।
पुरानो बानेश्वरस्थित सिद्धार्थ कटेजमा युवा नेताहरु भण्डारी, थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, बद्रीप्रसाद पाण्डे र जीवन परियारको बैठक बसेको थियो। पार्टीको संस्थापनइतरका युवा नेताहरु मात्रै भेला भएका हुन्।
आसन्न महासमिति बैठकमा युवाहरुको आवाज एकमत बनाउने उद्देश्यले युवाहरु एकजुट भएको बताइएको छ । २८ मंसिरबाट सुरु हुने महासमिति बैठकमा युवाहरुको तर्फबाट प्रस्तुत गरिने सांगठनिक तथा राजनीतिक प्रस्तावका विषयमा युवा नेताहरुबीच छलफल भएको थियो।
शुक्रबारको बैठक विधान र महासमिति बैठक लगायतका विषयमा विस्तृत छलफल हुने भएको छ ।
विधान मस्यौदा समितिले विधानलाई अन्तिम रुप दिन सकेको छैन। पदाधिकारी, केन्द्रीय समितिको संख्या एकिन गर्न विधान मस्यौदा समितिले सकेको छैन ।
समितिले पार्टीलाई विधान पेस गर्न नसकिरहेका कारण केन्द्रीय समितिको बैठक बस्न सकेको छैन। केन्द्रीय कार्य समितिको बैठकले समयमै विधान पारित गर्न नसके मंसिरको अन्त्यमा बस्ने महासमिति बैठक पनि प्रभावित हुनेछ।

प्रकाशित मिति : ३० कार्तिक २०७५ शुक्रबार ००:००  ७ : ३९ बजे