बुटवल ।
प्रदेश पाँच अन्तरगत पर्ने नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको बैठक बिहिबारदेखि प्युठानको स्वर्गद्वारीमा सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकमा राष्ट्रिय राजनीति, महासमितिको बैठक, बिधान मस्यौदा संशोधन लगायतका बिषयबस्तुमा छलफल हुने नेपाली काँग्रेस रोल्पाका सभापति अमर पुनले जानकारी दिनुभयो ।
राष्ट्रिय तथा प्रदेश राजनीतिमा पार्टीको एउटै धारणा बनाउन र महासमितिको बैठक तथा बिधान मस्यौदा संशोधनका सवालमा प्रदेश पाँचबाट एउटै सन्देश लैजानेगरी बैठक बसिएको पाल्पाका सभापति बिरबहादुर रानाले बताउनु भयो ।
प्रदेश पाँचमा पर्ने नवलपरासी, कपिलबस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ्, बाँके, बर्दिया, रुकुम, रोल्पा र प्युठानका सभापतिहरु सहभागि भएपनि रुपन्देहीका सभापति अब्दुल रज्जाक अस्वस्थताका कारण बैठकमा सहभागि हुनु भएको छैन ।
गत मंगलबारदेखि एक्कासी ज्वरो आएर युनिभर्सल मेडिकल कलेज भैरहवाको आईसीयुमा भर्ना हुनु भएका रुपन्देही सभापति रज्जाकको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालका चिकित्सकलाई उद्रित गर्दै नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. १ का सभापति तथा देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले बताउनु भयो ।
मंगलबार एक्कासी ज्वरो आएपछि उहाँ बुधबार मात्रै अस्पतालमा भर्ना हुनु भएको थियो । उहाँको शरीरमा डब्लुबिसीको मात्रा बढी भएको चिकित्सकले बताएका छन् ।
प्रतिक्रिया